जनता टाइम्स

७ जेष्ठ २०८२, बुधबार ११:३९

१७५ अर्ब डलरमा ‘गोल्डेन डोम’ बनाउँदैछ अमेरिका


वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक महत्त्वाकाङ्क्षी योजनाको घोषणा गरेका छन् । यसलाई उनले गोल्डेन डोम नाम दिएका छन् । यसको उद्देश्य अमेरिकालाई क्षेप्यास्त्र आक्रमणबाट जोगाउन बलियो सुरक्षा कवच निर्माण गर्नु हो । यो इजरायलको वायु रक्षा प्रणाली आइरन डोमसँग केही हदसम्म मिल्दोजुल्दो छ । ‘एक पटक सम्पन्न भएपछि, गोल्डेन डोम संसारको कुनै पनि ठाउँबाट वा अन्तरिक्षबाट प्रहार गरिएका क्षेप्यास्त्रहरूलाई रोक्न सक्षम हुनेछ,’ ओभल अफिसमा उपस्थित पत्रकारहरूलाई ट्रम्पले भने ।

यस योजना अन्तर्गत, हजारौँ साना उपग्रहहरू पृथ्वीको कक्षमा तैनाथ गरिनेछ । उपग्रहहरूको यो नेटवर्क मार्फत अमेरिका आफूलाई निशाना बनाएर आइरहेको क्षेप्यास्त्रहरूमाथि नजर राख्न र नष्ट गर्न सक्षम हुनेछ । आफ्नो कार्यकालको अन्त्यसम्ममा यो प्रणाली पूरा गर्ने लक्ष्य राखेको ट्रम्पले बताएका छन् । यसका लागि अर्को वर्षको बजेटमा २५ अर्ब डलर विनियोजन गरिने अनुमान छ । यसको कूल लागत १७५ अर्ब डलर पर्न आउने ठानिएको छ । गोल्डेन डोम प्रणालीको डिजाइनलाई अन्तिम रूप दिइएको र यसको नेतृत्व अन्तरिक्ष अपरेसनका उपप्रमुख जनरल माइकल गुएटलिनले गर्ने ट्रम्पले बताए ।

के भन्छन् विज्ञहरू ? 

सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडीजका मिसाइल डिफेन्स प्रोजेक्टका निर्देशक टम काराकोले यसलाई आवश्यक कदम भनेका छन् । ‘अन्तरिक्षमा युद्धको सम्भावनामा गोल्डेन डोमले अमेरिकालाई बलियो सुरक्षा प्रदान गर्न सक्छ ।’ उनले भने । तर, यो प्रणाली जटिल र महँगो भएको अनि यसलाई सजिलै लक्षित गर्न सकिने चेतावनी युनियन अफ कन्सन्र्ड साइन्टिस्ट्सकी भौतिक शास्त्री लौरा ग्रेगोले दिएकी छिन् ।

गोल्डेन डोमले हाइपरसोनिक मिसाइल र फ्र्याक्शनल अर्बिटल बमबारी प्रणाली जस्ता नयाँ प्रकारका मिसाइलहरूको सामना गर्नु पर्ने हुनसक्छ । ट्रम्पले यो बनाउन १७५ अर्ब डलर लाग्ने अनुमान गरेका छन् । तर केही विज्ञहरूले चाहिँ यो लागत १६१ अर्ब डलरदेखि ५४२ अर्ब डलरसम्म हुनसक्ने अनि यो पूरा हुन दसकौँ लाग्न सक्ने भनिरहेका छन् । अमेरिकासँग छोटो र मध्यम दूरीको क्षेप्यास्त्रहरूलाई रोक्ने प्रणालीहरू छन्, तर ठुलो मात्रामा लामो दूरीको क्षेप्यास्त्रहरूलाई रोक्नु अझै पनि ठुलो चुनौती हो ।