जनता टाइम्स

७ जेष्ठ २०८२, बुधबार १३:५४

सबै सरोकारवालासँग छलफल गरेर अगाडि बढ्छौँ : गभर्नर पौडेल 


काठमाडौं, ७ जेठ । नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले सरकारको वित्त नीतिलाई राष्ट्र बैङ्कले खुलेर सहयोग गर्ने बताउनुभएको छ ।

बालुवाटारस्थित बैङ्कको कार्यालयमा बुधबार पदभार ग्रहण गर्दै उहाँले राष्ट्र बैङ्कको काम सरकारको वित्त नीतिमा सहयोग गर्ने भएको स्पष्ट पार्नुभयो । राष्ट्र बैङ्कको स्वायत्तता कायम गर्दै सरकारको काममा सघाउने उहाँले प्रष्ट पार्नुभयो । ‘वित्त नीतिबाट जे कुराहरू तय हुन्छन् त्यसलाई सफल बनाउन मौद्रिक नीतिले सहयोग गर्छ’, उहाँले भन्नुभयो ।

उहाँले गुणस्तरीय सेवाको लागि राष्ट्र बैङ्कको क्षमता बढाउन आवश्यक रहेको बताउनुभयो । ‘धेरै नियम बनाएर कसिलो बनाउने भन्दा पनि सुपरिवेक्षण क्षमता बढाउनुपर्नेछ, यसका लागि राष्ट्र बैङ्कको क्षमता बढाउनुपर्नेछ’, उहाँले भन्नुभयो ।

बैङ्क तथा वित्तीय संस्थामा रहेको नागरिकको निक्षेपको सुरक्षा र कर्जा नीतिमा सुधारलाई राष्ट्र बैङ्कले प्राथमिकतामा राख्ने उहाँले बताउनुभयो । यस विषयमा राष्ट्र बैङ्कले विभिन्न सरोकारवाला निकायहरूसँग समन्वय गरेर निर्णय लिने उहाँले प्रष्ट पार्नुभयो । ‘म आफैँ मात्र कुनै प्रस्ताव ल्याएर यसै गरौँ भन्ने पक्षमा छैन, सबै सरोकारवाला निकायहरूसँग छलफल गरेर जान्छौँ’, उहाँले भन्नुभयो ।

पौडेलले ५ सय र १ हजार दरका बैङ्क नोट छपाइसँग सम्बन्धित निर्णयमा पहिलो हस्ताक्षर गर्नुभएको छ ।