रामेछाप, ७ जेठ । जिल्ला प्रशासन कार्यालय रामेछापले नागरिकको गुनासो सुन्ने र नागरिक बडापत्र जानकारी दिने क्युआर कोड सार्वजनिक गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापमा बुधबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सो क्युआर कोड सार्वजनिक गर्नुभएको हो । जिल्लाका सञ्चारकर्मी तथा सरकारी कार्यालयका सूचना अधिकारीहरूको उपस्थितिमा सार्वजनिक गरिएको क्युआर कोडको महत्त्व र चलाउने तरिकाको बारेमा कार्यालयका नायव सुब्बा लक्ष्मण भुजेलले जानकारी दिनुभएको थियो ।
अब क्युआर कोड प्रयोग गरी सर्वसाधारणले मोबाइलबाट नै जिल्ला प्रशासन कार्यालय प्रवाह गर्ने सेवाको बारेमा जानकारी लिन सक्ने भएका छन् । त्यस्तै जिल्लाका सरकारी कार्यालय, सामाजिक संस्था अन्य सेवा प्रदायकाको बारेमा पनि मोबाइलबाट नै उजुरी, गुनासो र सुझाव दिन सक्ने भएका छन् । व्यक्तिको नाम गोप्य राखी उजुरी, गुनासो र सुझाव ग्रहण गरी आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइने प्रजिअ थापाले बताउनुभयो ।
कार्यक्रममा चनाको हक सम्बन्धी कानुन बमोजिम हरेक ३ महिनामा सार्वजनिक गर्नुपर्ने सूचना सेवा प्रदायक कार्यालयले सम्पादन गरेका कार्यक्रम र खर्चको विवरण सार्वजनिक नगर्ने कार्यालय अब कारबाहीमा पर्ने प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो । कानुनले अनिवार्य गरेको काम पनि नभएको प्रति आफूलाई लज्जाबोध भएको उहाँले सुनाउनुभयो । उहाँ अब अनिवार्य रूपमा त्यस्ता सूचना सार्वजनिक गर्न सूचना अधिकारीहरूलाई निर्देशन दिनुभयो ।
कार्यालयले तोकेका सूचना अधिकारीको फोन नउठ्ने, फोन उठाए पनि सूचना नदिन, सूचना दिनबाट पन्छिन खोज्ने गुनासो आएको प्रति सूचना अधिकारीहरूलाई सचेत गराउनुभयो । उहाँले कानुन अनुसार दिनु पर्ने र दिन मिल्ने सबै सूचना सार्वजनिक गर्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्