सुर्खेत, जेठ ८ । कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतको वीरेन्द्रनगरस्थित विमानस्थलको धावनमार्गमा जमिनमुनिबाट पानी निस्किएको छ ।
धावनमार्गमा जनिमनुनिबाट पानी निस्किएसँगै मंगलबारदेखि विमानस्थलबाट उडान ठप्प बनेको छ । सुर्खेत विमानस्थल प्रमुख हिराजन काफ्लेले मंगलबार उत्तरतर्फ रहेको धावनमार्गमा एकाएक खाल्डो परेको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त खाल्डो पुर्ने काम भइरहेको वेला सोही दिन पुनः नजिकैको जमिनमुनिबाट पनि पानी निस्किन थालेको छ ।
काफ्लेले भन्नुभयो, ‘धावनमार्गमा पानी निस्किएसँगै विमानस्थल बन्द गरिएको छ । शनिबारसम्म सबै काम सक्नेगरी काम भइरहेको छ ।’ त्यसपछि मात्रै हवाई सेवा पुनः सञ्चालन हुने काफ्लेले बताउनु भयो । उहाँले अहिले पानी देखिएको स्थानलाई पुर्ने काम भएपनि भौगर्भिक अनुसन्धान गर्नुपर्ने बताउनु भयो ।
धावनमार्गमा पानी आएको कारण पत्ता लाग्न सकेको छैन । ‘धावनमार्ग भासिएको छ, माथितिर डाँडाकाँडा र वरपर खोला पनि छन् । तल सतहमा पानी रहेछ, खोतल्दा त्यो देखियो । के कारण पानी आयो, त्यो भौगर्भिक अध्ययनले देखाउला,’ प्रमुख काफ्ले भन्नुभयो । सुर्खेत विमानस्थल बन्द भएपछि कर्णालीवासीलाई ५ घण्टा सवारी साधनमा यात्रा नेपालगन्ज हुँदै गरेर हवाई यात्रा गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।
प्रतिक्रिया दिनुहोस्