काठमाडौं, १३ जेठ । भारतको छत्तीसगढ प्रहरीले छत्तीसगढको नारायणपुर जिल्ला प्रहरी मुख्यालयबाट करिब २ किलोमिटर टाढा आश्रम रोड नजिकैको सानो जंगलमा भारतीय माओवादी महासचिव नम्बाल्ला केशव राव उर्फ बसवराजुको शव दाहसंस्कार गरेको छ।
बस्तर रेन्जका प्रहरी महानिरीक्षक सुन्दरराज पीले सीपीआई (माओवादी) का महासचिव बसवराजुको शवसहित ७ नक्सलवादीको शवका विषयमा अहिलेसम्म कुनै स्पष्ट कानुनी दाबी नगरिएपछि कार्यकारी मजिस्ट्रेटको आदेशअनुसार उनीहरूको अन्तिम संस्कार गरिएको बताएका छन्।
छत्तीसगढ प्रहरीका अनुसार मे २१ मा नारायणपुरको अबुझमदमा भएको मुठभेडमा केशव रावसहित २६ माओवादी मारिएका थिए। बसबराजुका दाइ राम प्रसाद रावले सोमबार दिउँसो नारायणपुर प्रहरी चौकीमा बोलाएर शवको अवस्थाबारे जानकारी गराई नारायणपुरमै अन्तिम संस्कार गर्न भनिएको बताएका छन्। उनले बीबीसी हिन्दीसँग भनेका छन्, ‘प्रहरीले हामीलाई प्रहरी चौकीमा बोलाएर मेरो भाइको शव कुहिन थालेको र अस्पतालबाट मेरो गाउँ लैजानु जोखिमपूर्ण हुने बताएको थियो। उनीहरूले रोग फैलिने डर व्यक्त गर्दै नारायणपुरमै अन्तिम संस्कार गर्नुपर्ने बताए। तर हामी यसमा सहमत भएनौँ।’
यसैबीच भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले विज्ञप्ति जारी गरी आत्मसमर्पण गरेका नेताकार्यकर्ताका कारण आफ्ना महासचिव बसवराजु मारिएको बताएको छ।
प्रतिक्रिया दिनुहोस्