हेटौँडा, १३ जेठ । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले पत्रकारिताको नाममा गलत मानिसहरूले पत्रकारिता क्षेत्रकै बदनाम गराएको बताउनुभएको छ ।
मंगलबार नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशले वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा हेटौँडामा आयोजना गरेको सञ्चारमैत्री बजेट र कानुन निर्माणमा सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै काफ्लेले जनताको पक्षमा पत्रकारिता गर्ने पत्रकार र प्रायोजित पत्रकारिता गर्नेलाई छुट्टाउनु पर्ने बताउनुभयो ।
उहाँले कतिपयले पत्रकारिताको नाममा समाजलाई भ्रमित गराउने काम गरेका बताउनुभयो । त्यस्ता पत्रकारले देश र जनताको हितमा काम गर्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो । ‘पत्रकारिता लोकतन्त्रको दीप हो, तर के पत्रकारिताले त्यसरी काम गर्न सकेको छ त ?’, उहाँले भन्नुभयो ।
मन्त्री काफ्लेले वाग्मती प्रदेश सरकारले प्रदेश स्थापना भएदेखि अहिलेसम्म भएका सकारात्मक काम र सुधार गर्नुपर्ने कामको समीक्षा गरिदिन पनि आग्रह गर्नुभयो । पत्रकारलाई समाजको ऐना भएर काम गरिदिन उहाँले अनुरोध गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्