जनता टाइम्स

१६ जेष्ठ २०८२, शुक्रबार १७:४३

बजेटले अर्थतन्त्रको सङ्कटलाई समेट्ने प्रयास गरेको छ : शंकर पोखरेल


काठमाडौं, १६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश अझै स्थायित्वको बाटोमा अघि बढ्न नसकेको बताउनुभएको छ ।

नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय अधिवेशनको पूर्वसन्ध्यामा शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय बहस ’आर्थिक वर्ष २०८२/०८३ को बजेट समीक्षा, कार्यान्वयनको अवसर र चुनौती’ विषयक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेपालको अर्थतन्त्र पनि स्थायित्वको दिशामा अघि बढ्नै नसकेको बताउनुभयो । अनौपचारिक अर्थतन्त्रले नेपालको अर्थतन्त्रले सबैभन्दा बढी प्रभाव पारेको धारणा छ । ‘अनौपचारिक अर्थतन्त्रले औपचारिक अर्थतन्त्रलाई कहिले सङ्कुचित गराइदिन्छ, कहिले फुकाइदिन्छ’, उहाँले भन्नुभयो ।

अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा ढाल्न आवश्यक रहेको उहाँले बताउनुभयो । ‘अर्थतन्त्रलाई गतिशील स्थिर बनाउने हो भने अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा ल्याउन सक्नु पर्छ’, उहाँले भन्नुभयो ।

अनौपचारिक अर्थतन्त्रले नेपालको घरजग्गा कारोबारमा सबैभन्दा बढी प्रभाव पारेको उहाँले बताउनुभयो । अनौपचारिक अर्थतन्त्रले घर जग्गा कारोबारमा बढेको आकर्षणमा खुसी मान्दा आजको अवस्था आएको उहाँको धारणा छ । घर जग्गामा गरेको लगानीको कारण आज सबै क्षेत्र अस्तव्यस्त भएको पोखरेलले बताउनुभयो । निर्माण व्यवस्थापक रकम लिएर, सहरकीको रकम लिएर, ऋण लिएर घरजग्गामा लगानी गरिएको र त्यहाँ पैसा फस्दा सबै क्षेत्रका काम बरबाद भएका उहाँको भनाइ छ ।

त्यसतै पुँजी बजारले पनि नेपालको अर्थतन्त्रलाई प्रभाव पारिरहेको उहाँले प्रष्ट पार्नुभयो । पुँजी बजारलाई अस्वाभाविक रूपमा उतारचढाव ल्याउन पनि अनौपचारिक अर्थतन्त्रले काम गरिरहेको उहाँको धारणा छ ।

दुनियाँमा कहीँ नभएको नीति नेपालमा भएको बताउँदै उहाँले त्यसमा पनि सुधार आवश्यक रहेको उहाँले बताउनुभयो । देशको सबै क्षेत्र मन्दिरमा जाँदा पनि बैङ्क भने नाफामा जाने नीति दुनियाँमा काहीँ पनि नहुने पोखरेलले प्रष्ट पार्नुभयो ।

यस वर्षको बजेटले अर्थतन्त्रका यी समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको उहाँले बताउनुभयो । ‘अर्थतन्त्रको सङ्कटलाई बजेटले समेट्ने प्रयास गरेको छ, बजेटले निजी क्षेत्रलाई समेट्ने प्रयास गरेको छ’, पोखरेलले भन्नुभयो ।

नेपालमा शासकीय क्षमतालाई प्रवर्धनको लागि कानुनमा सुधार आवश्यक रहेको उहाँले बताउनुभयो । हरेक निकायले कानुन सुधारमा जोड दिनु पर्ने र ती सेवा प्रवाह र सुशासनमुखी हुनु पर्ने पोखरेलले स्पष्ट पार्नुभयो । नेपालमा बनेका कानुनहरू यस्ता छन्, जो विकासमैत्री छैनन्, सेवामैत्री पनि छैनन्’ उहाँले भन्नुभयो ।

पोखरेलले देश निर्माणको लागि प्रशासनिक संयन्त्रमा पनि सुधार आवश्यक रहेका बताउनुभयो । दोहरो अर्थ लाग्ने र दोहरो काम गर्ने संरचनात्मक ढाँचामा नै सुधार गर्न आवश्यक रहेको पोखरेलको धारणा छ ।

अर्थ मन्त्रालय र अन्य मन्त्रालय बिचको समन्वय र सहकार्य जुन हिसाबले हुनु पर्ने त्यो पनि हुन नसकेको उहाँले बताउनुभयो । अर्थ मन्त्रालय बजेट ल्याउने र निमन्त्रण गर्ने मात्र ठाउँ होइन बजेट कार्यान्वयन गर्ने ठाउँ पनि हो भन्ने धारणा विकास गराउन नसक्दासम्म विकासले गति लिने उहाँको धारणा छ ।

समयमा कार्यसम्पादन नहुले नेपालमा भ्रष्टाचार बढ्दै गएको उहाँले बताउनुभयो । कुनै पनि काम ढिलो हुँदै जाँदा त्यसको लागत बढ्ने र त्यहाँ भ्रष्टाचार र कमिसनको चक्कर चल्ने पोखरेलको भनाइ छ । यसमा नै कार्यसम्पादन गर्ने हो भने यस्ता काम रोकिँदै जोन उहाँको धारण छ ।