जनता टाइम्स

१८ जेष्ठ २०८२, आईतवार १०:२६

सवा अर्ब ठगी गरी फरार कर्णाली विकास बैंकका अध्यक्ष राय पक्राउ


काठमाडौं, जेठ १८ । मिलेमतोमा १ अर्ब २६ करोड रुपैयाँ अपचलन गरेको काण्ड छानबिनपछि फरार रहनुभएका कर्णाली विकास बैंकका तत्कालीन अध्यक्ष राजेन्द्रवीर रायलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) ले अध्यक्ष रायलाई पक्राउ गरेको हो । कर्णाली विकास बैंकको अपचलनमा पक्राउ पुर्जी जारी भएपछि फरार रायलाई पक्राउ गरिएको सिआइबीका प्रमुख एआइजी चन्द्रकुवेर खापुङले जानकारी दिनुभयो ।

कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप हिनामिना प्रकरण बाहिर आएपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो । सोही अनुसन्धानको क्रममा प्राप्त तथ्यका आधारमा सिआइबीले रायलाई काठमाडौंमा पक्राउ गरेको हो ।

नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैकका पूर्वकार्यकारी अध्यक्ष, पूर्व र वर्तमान प्रमुख कार्यकारी अधिकृत र पूर्ववित्त विभाग प्रमुखको मिलेमतोमा करिब १ अर्ब २६ करोड रुपैयाँ बराबर अपचलन भएको थियो ।

बैक सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानबिन समितिले कर्णाली विकास बैंकको अन्य बैकमा रहेको खातामा रहेको रकम तथा बैंकको कोर बैंकिङ प्रणालीमा प्रविष्ट रहेको रकमबीच अन्तर निकाल्दा करिब १ अर्ब २६ करोड अपचलन भएको पाइएको हो ।

बैंकका पूर्वकार्यकारी अध्यक्ष तथा सीईओ राजेन्द्रवीर राय, पूर्वसीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी र निरजविक्रम शाहकै संलग्नतामा रकम अपचलन भएको बैंकले गरेको आन्तरिक छानबिनले देखाएको थियो ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ मा कर्जा दुरूपयोग गरेको भन्दै रायलाई ५ लाख जरिवाना समेत गरेको थियो । कर्णाली विकास बैंक लिमिटेडको व्यवस्थापन हाल राष्ट्र बैंकले नियन्त्रणमा छ । बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूहले सञ्चालन गरेर सुधारात्मक काम गरिररहेको छ ।