जनता टाइम्स

१८ जेष्ठ २०८२, आईतवार २०:३१

राजावादी आन्दोलन : नारायणीहिटी हान्ने कि मर्नुअघि खुट्टा तान्ने ?


राजावादीहरूको असंवैधानिक माग र हर्कतबाट नेपालका गणतन्त्रवादी शक्ति-खासगरी नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी सजग र सचेत भएको देखिन्छ । यो वा त्यो नाममा राजावादीलाई संघ, प्रदेश र स्थानीय तहमा स्पेस दिने हिजोका गल्ती अब नदोहोरिने अपेक्षा गर्न सकिन्छ । अजिङ्गर बुढो भएपछि कुनै शिकार गर्न सक्दैन, आफ्नै पुच्छर मुखमा हालेर मर्छ भनिन्छ । राजावादीहरूको ‘आन्दोलन’को दुर्दशा यही हो ।

निर्मल भट्टराई

नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षको बलमा करिब दुइ दशक अगाडि सम्पूर्ण रूपमा समाप्त पारिएको राजतन्त्रलाई पुनस् फर्काउने रोड्याईं गर्दै राप्रपालगायतका मसिना शक्तिहरू हिजोआज सडकमा छन् । ब्यापारी पूर्व राजा ज्ञानेन्द्रले आफू वा आफ्नो शाखा(सन्तान गद्दीमा फर्कने आसमा देशभरिबाट काठमाण्डौमा मान्छे ओसारेर हजार पन्द्र सय मानिसलाई आफ्नो जयजयकार गर्न लगाउँदै छन् ।

सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा सामन्ती राजतन्त्रको कुनै अस्तित्व नभएको कारण हिन्दु धर्मलाई आड लगाएर आफू फर्कने दिवाश्वप्न बोकेका ज्ञानेन्द्रको अभिलाषामा चिसो पानी खनिने निश्चित प्रायस् छ किनभने ‘आन्दोलन’कारीको संख्या दिनप्रतिदिन घट्दै गएको छ । ‘जेठ १५ गते नै ज्ञानेन्द्रलाई नारायणहिटी दरवार छिराउने’ हावा उर्दी लगाएर काठमान्डौ बटुलेका मानिसहरू ‘खुट्टी हेर्दै थाहा पाइयो’ भन्दै घर फर्कन थालेका छन् । औसतभन्दा चाँडै सुरू भएको मनसुन,असारको चटारो र विध्वंशकारी तीनकुने घटना र आन्दोलनको भविश्य अन्योलका कारण केही दिनमै राजावादीहरूको सडक रित्तिने अवस्था छ ।

०४६को परिवर्तनपछि भगिरथ प्रयत्न गरे पनि राजावादीहरूले कुनै उल्लेख्य हैसियत देखाउन सकेनन् । कहिले कांग्रेसको ओत त कहिले एमालेको ओत लागेर तत्कालिन र गणतान्त्रिक संसदमा झिनो हैसियत बनाउँदै आए । सङ्घीय गणतन्त्रात्मक संविधान मानेर संसद र सरकारमा हिस्सेदारी गर्दै आए । शक्तिशाली प्रथम संविधानसभाले नारायणीहिटी दरवार छोड्न दिएको आदेश चुपचाप मानेका पूर्व राजा ज्ञानेन्द्र पनि बेला-बेला जनता भड्काउने अभिव्यक्ति दिने, देशका मठमन्दिर घुम्ने निउँमा राजनीतिक चलखेल गर्ने, तीर्थाटनको बहनामा भारतका कट्टर हिन्दुवादी नेतासँग आफूलाई पुनस् सत्तामा फर्काइदिन अनुनय(विनय गर्ने गर्दै आए । यसपालि भने विवादास्पद गुमनाम पञ्चसमेत बटुलेर आफू गद्दीमा फर्कने ‘निर्णायक’ आन्दोलन गराइ रहेका छन् । आफ्नो ब्यापारको अरबौं नाफाको केही प्रतिशत ‘आन्दोलनकारी’ ओसार्न खर्च गरिरहेका छन् । आफूलाई राजा नमाने नाति हृदयन्द्रलाई माने पनि हुन्छ भन्ने हाँस्यास्पद तर्क गरिरहेका छन् ।

भाडामा मानिस ओसारेर सत्ता कब्जा गर्छु भन्नु एक मजाक सिवाय केही होइन । आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सेनापति काण्डमा पदच्यूत भएपछि प्रथम संविधानसभाको २३९ सिट सहितको रापताप सहितको सबभन्दा ठूलो माओवादी पार्टीले सत्ता कब्जा गर्ने योजनाका साथ देशैभरबाट ‘लाखौं’को संख्या काठमाण्डौमा मानिस उतार्‍यो । त्यो आन्दोलन ६ दिनमै तुहियो। र क्रमशस् माओवादीको पतन सुरू भयो । त्यो हेरेर अहिलेको राजावादी आन्दोलन एक छेउ पनि होइन ।

राजावादी आन्दोलन सफल हुने कुनै सम्भावना छैन । आन्दोलनका लागि कुनै अजेन्डा छैन । अहिले बचेका तत्कालीन राजाका सन्तानहरू सबै कुख्यातमात्र छन् । देश निर्माणमा नकारात्मक योगदान रहेका पात्रमात्र छन् । “बाजेले घिउ खाएका थिए, मेरो हात सुँघ” भन्नुबाहेक उनीहरूसँग कुनै तर्क वा विषयबस्तु छैन । दरवार हत्याकाण्डपछि त शाहवंशीय राजाप्रति नेपाली जनताको मोह सधैंका लागि भङ्ग भएको छ । त्यसकारण नेपाली जनताले ज्ञानेन्द्रलाई सत्तामा फर्कन साथ दिने कुनै सम्भावना छैन ।

जननिर्वाचित सरकारहरूको कमजोरी, पार्टी नेतृत्वले कहिलेकहीं गरेका ब्लन्डरहरू,जनप्रतिनिधिहरूमा देखिएको नैतिकताको खडेरीजस्ता समस्याहरूका बाबजुद गणतन्त्रले नेपाली जनतालाई छोटो समयमा धेरै सकारात्मक परिणाम दिएको छ। भौतिक पूर्वाधार र सामाजिक क्षेत्रमा भएका प्रगति उल्लेख्य छन् । राज्यमा सबै तह र तप्काका जनताको सहज पहुँच स्थापित भएको छ । गणतन्त्र केही वर्षमा आफैं धराशायी हुन्छ भन्ने आँकलनमा बसेका राजावादी शक्तिले गणतन्त्रले एक पछि अर्को सफलता पाएको देखेर ‘मर्नु अगाडि खुट्टा तान्ने’ रणनीति बनाएको प्रष्ट देख्न सकिन्छ ।

राजावादीहरूको असंवैधानिक माग र हर्कतबाट नेपालका गणतन्त्रवादी शक्ति(खासगरी नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी सजग र सचेत भएको देखिन्छ । यो वा त्यो नाममा राजावादीलाई संघ, प्रदेश र स्थानीय तहमा स्पेस दिने हिजोका गल्ती अब नदोहोरिने अपेक्षा गर्न सकिन्छ । अजिङ्गर बुढो भएपछि कुनै शिकार गर्न सक्दैन, आफ्नै पुच्छर मुखमा हालेर मर्छ भनिन्छ । राजावादीहरूको ‘आन्दोलन’को दुर्दशा यही हो ।