काठमाडौं, १९जेठ । नेपाल उद्योग परिसङ्घले आउँदो आर्थिक वर्षको बजेट सन्तुलित र उत्पादनमुखी रहेको भन्दै स्वागत गरेको छ । परिसङ्घले हिजो विज्ञप्ति निकालेर सरकारले वर्तमान अर्थतन्त्रको चुनौती पहिचान गर्दै गतिशील अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको लगानी बढाउन सहयोग गर्ने गरी बजेट ल्याएको भन्दै स्वागत गरेको हो ।
बजेट सन्तुलितसँगै केही क्षेत्रलाई उच्च प्राथमिकता दिएको, आर्थिक वृद्धिका लागि उच्च योगदान गर्ने क्षेत्रमा थप नीतिगत, कानूनी र प्रक्रियागत सुधार गर्दै निजी लगानी प्रवर्द्धनलाई प्राथमिकता दिएको परिसङ्घले जनाएको छ ।
विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्ने अनुमतिप्राप्त उद्योगलाई शुरुका तीन वर्षको भाडा छुट दिने, विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रतिवर्गमिटर २० बाट घटाएर ५ रुपैयाँ कायम गर्ने, औद्योगिक क्षेत्रका उद्योगले उत्पादनको ३० प्रतिशतभन्दा बढी निर्यात गरे विशेष आर्थिक क्षेत्रका उद्योगसरहको सुविधा दिने विषयलाई परिसंघले स्वागत गरेको छ ।
सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा लाग्ने करमा ७५ प्रतिशत छुट हुने, नेपालमा बसी विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा ५ प्रतिशत मात्र आयकर लाग्ने र यो कर अन्तिम हुने, १० करोडसम्मको वार्षिक कारोबार गर्ने स्टार्टअप व्यवसायलाई ५ वर्षसम्म आयकर नलाग्ने व्यवस्था, सूचना प्रविधिमा आधारित उद्योग र होटल तथा रिसोर्टलाई विशेष उद्योगसरह आयकर र विद्युत् महसुलमा छुट दिने व्यवस्थाले सूचना प्रविधि तथा स्टार्टअप क्षेत्रमा लगानी आकर्षित गर्ने परिसङ्घको विश्वास छ ।
परिसङ्घले चितवनको शक्तिखोर र मकवानपुरको मयूरधापमा लगानी बोर्डमार्फत निजी क्षेत्रको सहभागितामा आधुनिक औद्योगिक क्षेत्र निर्माण गरिने तथा पाँचखाल र सिमराको विशेष आर्थिक क्षेत्रलाई निजी क्षेत्रको सहभागितामा सञ्चालन गरिने घोषणालाई कार्यान्वयनमा लैजानसमेत आग्रह गरेको छ । बजेट राम्रो आउने तर कार्यान्वयन पक्ष सधैं कमजोर हुने गरेको भन्दै परिसङ्घले यसतर्फ सरकारलाई सचेत गराएको छ ।
प्रतिक्रिया दिनुहोस्