जनता टाइम्स

१९ जेष्ठ २०८२, सोमबार १८:४४

सामन्तको झोला पो बोक्न हुन्न, विचारको झोला बोक्न के को सङ्कोच : कैलाश ढुङ्गेल 


काठमाडौं, १९ जेठ  । नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले तर्क गर्न नसक्नेहरूले गालीगलौज गर्ने बताउनुभएको छ ।

नेकपा एमाले र एमाले नेतृत्वसँग तर्क गर्न नसकेपछि एउटा जमात एमाले विरुद्धको गालीगलौजमा उत्रिएको उहाँको भनाइ छ । ‘भनिन्छ–जहाँ तर्क सकिन्छ, त्यहीँबाट गालीगलौज सुरु हुन्छ, अचेल सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको एउटा जमातले इमान, निष्ठा र जनसेवाको राजनीति गरिरहेको पार्टी पङ्क्तिलाई निरुत्साहित गर्न गालीगलौजको अभियान नै चलाइरहेको छ’, सामाजिक सञ्जाल फेसबुकमा ढुङ्गेलले लेख्नु भएको छ ।

यस्तो जमातले वंशवाद र जन्मजात श्रेष्ठताको सामन्ती मान्यता बोक्नेको रैती बन्नुमा गर्व गर्ने तर प्रतिस्पर्धात्मक लोकतन्त्रका पक्षधरहरूलाई ‘झोले’ भन्दै खिसीटिउरी गर्ने गरेका उहाँको भनाइ छ । ‘उनीहरू चाहन्छन्–राजनीतिक कार्यकर्ताहरू, कुनै नेतालाई मन पराउने कलाकारहरू या नागरिकहरू ‘सेल्फ सेन्सर्ड’ बनुन् र बोल्न छाडुन्, यो दूषित मनसायलाई हुर्किन दिनुहुन्न, सामन्तको पो झोला बोक्न हुन्न, विचारको झोला बोक्न के को सङ्कोच’, उहाँले लेख्नु भएको छ ।