जनता टाइम्स

२० कार्तिक २०७६, बुधबार १४:२२

नेपाल विजयी सुरुवात गर्ने लक्ष्यमा यूएईसँग खेल्दै


काठमाडौं, कात्तिक २०

एएफसी यू–१९ च्याम्पीयनसिप छनोटमा नेपाली यू–१९ युवा फुटबल टोली आज युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्दैछ । अर्को वर्ष हुने एएफसी यू–१९ च्याम्पीयनसिपका लागि इरानमा सुरु भएको छनोटमा नेपाल बलियो प्रतिद्वन्द्वी यूएईसँग खेल्न लागेको हो । इरानस्थित पिएस स्टेडियममा खेल नेपाली समयअनुसार दिउँसो ३ः०० बजे सुरु हुनेछ ।

समूह डी मा रहेको नेपाल विजयी सुरुवात गर्दै छनोट यात्रा अगाडि बढाउन चाहन्छ । यूएईविरुद्ध जित निकाल्न चुनौती रहेको नेपाल साफमा भएका कमजोरीलाई सुधार्दै खेल प्रदर्शन गर्ने रणनीतिमा छ । साफमा नेपालले खराब नतिजा निकालेको थियो । त्यसपछि नयाँ प्रशिक्षक मेघराज केसी पाएको नेपाल प्रदर्शनमा सुधार गर्ने योजनामा छ । नेपाल रहेको समूह डी मा घरेलु टोली इरानसँगै यूएई र किर्गिस्तान छन् ।

रेजिन सुब्बाको कप्तानीमा रहेको टोलीको गोलकिपरमा विशाल राई, रोहित कार्की र पुजन होना छन् । डिफेन्डरमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, असिम गुरुङ, नवीन गुरुङ, रोशन दोङ, विकास खवास, योगेश गुरुङ र निराजन महर्जन छन् । मिडफिल्डमा दर्शन गुरुङ, रन्जन पुन, आकाश बुढा मगर, जय गुरुङ, मनिष थापा, अनिल महर्जन र दिनेश हेन्जन छन् । फर्वाडमा मनिष डाँगी, राजिभ लोप्चन, कप्तान सुब्बा र दिपेश आले मगर छन् ।