तेल अभिभ । इजरायलले लेबनानको बेरुत शहरको दक्षिणी क्षेत्रहरूमा हवाई आक्रमण गरेको छ । आफूले हिज्बुल्लाहको ड्रोन उत्पादन गर्ने आधारहरूलाई निशाना बनाएर यी आक्रमणहरू गरेको इजरायलले भनेको छ । आक्रमण बिहीबार राति भएको थियो ।
यो ईद–उल–अजहाको पर्वको अघिल्लो दिन थियो । यो आक्रमण अघि, मानिसहरूलाई यो क्षेत्र खाली गर्न चेतावनी दिइएको थियो । बेरुतमा यो क्षेत्रलाई हिज्बुल्लाहको गढ मानिन्छ । उनीहरूले हिज्बुल्लाहको एउटा टोली पहिचान गरेका र यिनीहरूले जमिनमुनि हजारौं ड्रोन बनाउँदै रहेको पनि इजरायली रक्षा बलले दाबी गरेको छ। ।
इजरायल र हिज्बुल्लाह बीच विगत छ महिनादेखि युद्धविराम भएको समयमा यो आक्रमण भएको हो । लेबनानका प्रधानमन्त्री नवाफ सलामले यो आक्रमणको निन्दा गरेका छन् । ‘म यी आक्रमणहरूलाई हाम्रो देशको सुरक्षा, स्थिरता र अर्थतन्त्रमाथि सुनियोजित आक्रमण ठान्छु, विशेष गरी चाडपर्व र पर्यटकीय मौसमको ठिक अगाडि ।’ उनले आफ्नो एक्स अकाउन्टमा लेखेका छन् ।
लेबनानका राष्ट्रपति जोसेफ आउनले यी आक्रमणहरूलाई अन्तर्राष्ट्रिय सम्झौताहरूको घोर उल्लङ्घन भनेका छन् । आक्रमण पवित्र धार्मिक पर्वको पूर्वसन्ध्यामा भएको उनले बताएका छन् । हिजबुल्लाहले ठूलो मात्रामा ड्रोन प्रयोग गरिरहेको र यो इजरायलमाथि आक्रमण गर्ने एक महत्त्वपूर्ण तरिका बनेको इजरायली सेनाले भनेको छ । यस बाहेक, इजरायली सेनाले यसलाई लेबनान र इजरायलबिचको सम्झौताको उल्लङ्घन भनेको छ । आक्रमणबारे हिजबुल्लाहबाट अहिलेसम्म कुनै बयान भने आएको छैन ।
प्रतिक्रिया दिनुहोस्