जनता टाइम्स

२८ जेष्ठ २०८२, बुधबार १०:२५

निफ्राको हरित ऋणपत्रमा करिब ४ गुणा बढीले दिए आवेदन


काठमाडौं, २८ जेठ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को हरित ऋणपत्रमा करिब ४ गुणाभन्दा बढीले आवेदन दिएका छन् ।

७ वर्ष अवधि भएको र वार्षिक ६ प्रतिशतको दरले व्याजप्रदान गर्नेगरी निफ्राले जारी गरेको ५ अर्ब रुपैयाँको हरित उर्जा ऋणपत्रमा उक्त आवेदन परेको हो । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा जेठ १८ गतेदेखि निष्काशन सुरु भएको यस ऋणपत्र निष्काशनको कार्य जेठ २५ गते सम्पन्न भएको थियो ।

यो सयमसिमाभित्र सर्वसाधाण तर्फको २ अर्ब रुपैयाँको लागि सामूहिक लगानी कोषहरु बाहेक जम्मा ३ हजार ३३ योग्य लगानीकर्ताहरुबाट ३ अर्ब ३८ करोड ५४ लाख ७८ हजार रुपैयाँको लागि आवेदन परेको थियो ।

प्राइभेट प्लेसमेन्ट तर्फको ३ अर्ब रुपैयाँको लागि जम्मा २३ योग्य लगानीकर्ताहरुबाट १५ अर्ब ५९ करोड ५५ लाख रुपैयाँको लागि आवेदन परेको थियो । यो ऋणपत्रको प्रारम्भिक बाँडफाँडको कार्य सम्पन्न भई अन्तिम बाँडफाँड हुने चरणमा रहेको छ ।