जनता टाइम्स

२२ कार्तिक २०७६, शुक्रबार १८:३१

कान्ति बाल अस्पतालमा अक्सिजन प्लाण्ट जडान गर्न काठमाडौं महानगरको सहयोग, उपप्रम पोखरेलको रोहवरमा हस्ताक्षर


काठमाडौं, कात्तिक २२ । काठमाडौँ महानगरपालिकाले विरामीको उपचारको क्रममा आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्न अक्सिजन उत्पादनका लागि अक्सिजन प्लाण्ट जडानका लागि कान्तिबाल अस्पताललाई सहयोग गर्ने भएको छ । आज काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र अस्पतालका निर्देशक प्राडा आर. पि.विच्छाबीच आर्थिक सहयोग गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

काठमाडौँ क्षेत्र नम्बर पाँचका सांसद समेत रहनु भएका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र प्रदेश सांसद दिपक निरौलाको रोहवरमा सो सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा हस्ताक्षर गरेपछि मेयर शाक्यले नगरसभाबाट रु दुई करोड विनियोजन गरेको भन्दै खरिद प्रक्रिया अघि बढाउन आग्रह गर्नुभयो । ‘नगरसभाबाट रु दुई करोड विनियोजन गरेका छौँ । तपाईँहरु आजैबाट प्रक्रिया अघि बढाउनुहोस् । हामी योजना अनुसारको पैसा दिन तयार छौँ,’ उहाँले भन्नुभयो, ‘पैसा अनुसारको योजना बनाउनुभयो भने त्यो कमसल हुने र उपयोगी नहुने हुनसक्छ । कमसल सामान खरिद गर्नुभयो भने त्यो पटक–पटक मर्मत गर्नुपर्ने र काम नलाग्ने हुनसक्छ । त्यसमा ख्याल गर्नुहोला ।’

मेयर शाक्यले महानगरपालिकाले पूर्वाधार र सम्पदाको क्षेत्रमा मात्र नभई मानवीय सेवाका काममा पनि उत्तिकै चासो राखेको भन्दै यो सहयोग पनि त्यसैको निरन्तरता भएको बताउनुभयो । निर्देशक विच्छाले अक्सिजनमा मात्रै वार्षिक करीब ६३ लाख खर्च हुने गरेको बताएपछि मेयर शाक्यले यो आर्थिक वर्ष भित्रै सम्झौता अनुसार काम सम्पन्न गरे अस्पताललाई आर्थिक भार कम हुने बताउनुभयो । ‘महानगरपालिकाले गरेको सहयोग फिर्ता लिनका लागि होइन,’ शाक्यले भन्नुभयो, ‘अस्पतालबाट गरिब र निमुखा जनताले सरल सेवा प्राप्त गर्ने वातावरण तपाईँहरुले बनाउनुहोला अरु सहयोग चाहियो भने पनि गर्न तयार छौँ ।’

मन्त्री पोख्रेलले आफु यहि क्षेत्रको प्रतिनिधि समेत भएको नाताले अस्पताललाई पर्ने आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । ‘समस्या के–हो ठ्क्याक्क भन्नुहोस् मेरो पहलबाट हुने सबै खाले सहयोग गर्न तयार छु,’ पोख्रेलले भन्नुभयो । उहाँले सम्झौतापत्र अनुसार प्रक्रिया अघि बढाउन आग्रह गर्दै ढिलासुस्ती नगर्न पनि आग्रह गर्नुभयो । निर्देशक विच्छाले अहिले पनि रातो स्टीकर टाँसेको भवनबाट सेवा प्रवाह गर्नुपरेको गुनासो गरेपछि मन्त्री पोख्रेलले प्रक्रिया अघि बढाएर पुरानो भवन भत्काउने र नयाँ भवन निर्माण गर्ने कुरामा पनि सहयोग गर्न तयार रहेको बताउनुभयो ।

२०५२ सालको दरवन्दीले अहिलेसम्म चलाउनु परेको, बजेट थोरै भएको, कर्मचारीको तवलका लागि आउने बजेट समेत घटाएर पठाएको जस्ता गुनासो निर्देशक विच्छाले गरेपछि मन्त्री पोख्रेलले ती समस्या समाधानमा स्थानीय तह, प्रदेश र केन्द्र सरकार लाग्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । २०४४ सालमा अधिग्रहण भएको करीब ६० रोपनी जग्गा अस्पतालको नाममा ल्याउनका लागि प्रयास भैरहेको भन्दै त्यसलाई सहज रुपमा अघि बढाउने कुरामा सहयोग गर्न पनि निर्देशक विच्छाले आग्रह गर्नुभयो । काठमाडौँ महानगरपालिका वडा नम्बर–३ का अध्यक्ष दिपक केसीले पनि आफ्नो वडा भित्रको अस्पताल भएकाले आफ्नो तर्फबाट सक्ने प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।