जनता टाइम्स

८ असार २०८२, आईतवार १३:१५

अमेरिकी हमलापछि रेडियसन चुहिने खतरा छैन : इरान


तेहरान । अमेरिकाले गएको राति इरानको तीन आणविक स्थलहरूमा हवाई आक्रमण गर्‍यो । यो घटनापछि इरानले आफ्नो पहिलो वक्तव्य जारी गरेको छ । इरानले आफ्नो आणविक स्थलहरूमा कुनै क्षति नभएको र ती पूर्ण रूपमा सुरक्षित रहेको बताएको छ ।

साथै, रेडियसन चुहावटको खतरालाई पनि अस्वीकार गरिएको छ । इरानको आणविक ऊर्जा संगठन (एईओआई) ले अमेरिकी हवाई आक्रमणपछि देशका प्रमुख आणविक स्थलहरूमा कुनै पनि प्रकारको विकिरण चुहावटको खतरालाई आइतबार अस्वीकार गरेको छ ।

इरानको सरकारी मिडिया रिपोर्टहरू उद्धृत गर्दै यो जानकारी बाहिर आएको हो । सुरक्षा जाँचमा कुनै पनि प्रकारको विकिरण पत्ता नलागेको आश्वासन सङ्गठनले जनतालाई दिएको छ । यी आक्रमणहरूको बाबजुद पनि इरानी आणविक कार्यक्रम नरोकिने भनिएको छ ।

इरानको आणविक ऊर्जा सङ्गठनले यी आक्रमणहरूलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेको छ र एजेन्सीले आफ्नो राष्ट्रिय हितको रक्षा गर्न कानुनी कारबाहीको प्रक्रिया सुरु गरेको बताएको छ । इरानले अन्तर्राष्ट्रिय समुदायलाई यी आक्रमणहरूको निन्दा गर्न र शान्तिपूर्ण आणविक विकासको अधिकारमा इरानलाई समर्थन गर्न अपिल गरेको छ ।