जनता टाइम्स

२ श्रावण २०८२, शुक्रबार ०८:२७

श्रम बिना प्रगति सम्भव छैन, श्रमिकको सम्मान बिना समृद्धि सम्भव छैन : प्रधानमन्त्री


काठमाडौं, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक र श्रम बिना देशको प्रगति सम्भव नभएको बताउनुभएको छ ।

सरकारले साउन १ गतेदेखि लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको जानकारी दिँदै ओलीले सरकारले श्रमिकलाई सधैँ भरोसा दिने बताउनुभयो । सरकारले साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३ सयबाट बढाएर १९ हजार ५ सय ५० रुपैँया बनाउने निर्णय गरेको छ । ‘श्रम बिना प्रगति सम्भव छैन र श्रमिकको सम्मान बिना समृद्धि सम्भव छैन’, उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर श्रमिकको भविष्य सुरक्षित गर्ने पाइला चलेको पनि उहाँले जानकारी दिनुभयो । त्यसमा अहिलेसम्म करिब २१ लाख श्रमिक आबद्ध भइसकेका पनि ओलीले बताउनुभएको छ । ‘श्रमिकलाई एक मुट्ठी भरोसा महत्त्वपूर्ण हुने छ, जय श्रमिक, जय नेपाल’, उहाँले लेख्नु भएको छ ।

सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीच हिजो श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय ५० बनाउने सहमति भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको त्रिपक्षीय बैठकमा यस्तो सहमति भएको हाे ।

श्रम ऐन, २०७४ को दफा १०७ मा प्रत्येक दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने व्यवस्था छ। साउन १ गतेदेखि लागू हुने गरी भएको सहमतिअनुसार अब श्रमिकको मासिक आधारभूत पारिश्रमिक १२ हजार १ सय ७० र महङ्गी भत्ता ७ हजार ३ सय ८० हुनेछ ।

मन्त्रालयका अनुसार श्रमिकले दैनिक आधारभूत पारिश्रमिक ४ सय ७० र महङ्गी भत्ता २ सय ८४ प्राप्त गर्नेछन् । प्रतिघण्टा आधारभूत पारिश्रमिकरु ६३ र महङ्गी भत्ता ३८ हुनेछ । आंशिक समयमा मात्र काम गर्ने कामदारको हकमा प्रतिघण्टा न्यूनतम पारिश्रमिक १ सय ७ हुने सहमति भएको छ । उक्त सहमति चिया बगानबाहेकमा श्रमिकको हकमा लागू हुने मन्त्रालयले जनाएको छ ।