काठमाडौं, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबिचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्ने बताउनुभएको छ।
नेपाल–चीनबिचको मैत्री सम्बन्ध पुरानो, ऐतिहासिक र बहुआयामिक भएको उल्लेख गर्दै, यस्तो सम्बन्धलाई आगामी पुस्तासम्म जोगाउँदै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा आज काठमाडौंमा आयोजित नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन–२०२५ मा बोल्दै प्रधानमन्त्रीले सम्बन्धलाई अझ मजबुत बनाउन सरकारको तर्फबाट कुनै कसर बाँकी नराखिने स्पष्ट पार्नुभयो ।
उहाँले सम्बन्धहरू केवल लेनदेनमा सीमित नहुने भन्दै, त्यसमा पारस्परिक भावना, समझदारी र सांस्कृतिक विविधता रहने बताउनुभयो। कार्यक्रममा उहाँले भन्नुभयो, “यसले पुस्ता पुस्तासम्म आपसी मित्रता बढाउँदै जान सघाउनेछ, बहुआयामिक सम्बन्धलाई बढाउँछ, सम्बन्धहरू लेनदेनको मात्रै हुँदैनन्, पारस्परिक भावना र सांस्कृतिक विविध पक्षहरू हुन्छन् ।”
प्रधानमन्त्रीले नेपाल सरकार सधैँ मैत्री सम्बन्धको सुदृढीकरणमा प्रतिबद्ध रहेको बताउँदै, गच्छेअनुसार सम्बन्धलाई अझ विस्तार र सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मानसमेत गर्नुभएको थियो। युवा सशक्तीकरण पुरस्कार काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललाई प्रदान गरिएको थियो। व्यवसाय नेतृत्व पुरस्कार राजेशकाजी श्रेष्ठ र वीरेन्द्रराज पाण्डेलाई, तथा शिक्षा उत्कृष्ट पुरस्कार अनुराधा शर्मालाई प्रदान गरिएको हो।













प्रतिक्रिया दिनुहोस्