जनता टाइम्स

२ श्रावण २०८२, शुक्रबार २०:३४

माधव-वामदेव एकता : आकाशे अङ्कमाल, धरती कङ्गाल


आज अङ्कमाल गर्ने यी साचुरेटेड बिग बोसहरूसँग न देश बनाउने भिजन छ, न यिनका वरिपरि घुम्ने सीमित माानिसको क्वालिटी नै छ । अख्तियारले डामेका नेतासँग अत्यन्त विवादास्पद व्यक्ति वामदेवले आकाशे अङ्कमाल गर्दैमा नेपालको कम्युनिष्ट आन्दोलनमा केही भिन्नता आउँछ भन्नुचाहिँ आकाश चाटेर अघाइन्छ भन्नुसरह हो ।

निर्मल भट्टराई

नेकपा (एमाले) का कुनै जमानाका महासचिव माधव नेपाल र उपमहासचिव वामदेव गौतम ‘पार्टी एकता’ गर्दै तामझामसहित अङ्कमाल गरेका छन् । तत्कालीन नेकपामा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी सदस्यताबाटै हटाउने निर्णयमा महान हस्ताक्षर गरेपछि फेरि घुम्दै फिर्दै आज अँगालोमा आइपुगेका छन् । अर्थात् एकीकृत समाजवादी नामक वामपन्थी नाङ्लो पसल र नेकपा एकता अभियान नामक नाङ्लो पसलको पुनस् मर्ज भएको छ ।

एमालेको शीर्ष नेताको हैसियतमा माधव प्रधानमन्त्री भए भने वामदेव पटक-पटक उपप्रधानमन्त्री र गृहमन्त्री हुन भ्याए । तर जीवनको उत्तरार्धमा एमालेविरोधी विलौना गाएर जीवन गुजार्नु पर्ने वाध्यतामा पुगेका छन् यिनीहरू । र जति विलौना गरे पनि यिनीहरूले एमालेबाट छुट्टिनु पर्ने उचित कारण फेला पार्न सक्ने छैनन् ।

वामदेवको नेतृत्व (धरातल पूर्णरूपेण पहिरोमा परिसकेको छ भने पतञ्जली) प्रकरणपछि माधवको धरातल रसातलमा भासिएको छ । माधव एमालेबाट छुट्टिने बेलामा ‘अपमान’ शब्दको प्रयोग भएको थियो भने पतञ्जली प्रकरणपछि ‘प्रतिशोध’ शब्दको प्रयोग भएको छ । न ‘अपमान’को बाँसुरीले पार्टी बन्यो न ‘प्रतिशोध’को सुगा रटाइले पार्टी जोगिन्छ ।

नेकपाको विभाजन र नेकाको नेतृत्वमा बनेको त्यो बेलाको एमालेविरोधी गठबन्धन चीर कालसम्म टिकाउने र त्यही गठबन्धनको आडमा फेरि प्रधानमन्त्री बन्ने माधव सपना उडाउन प्रचण्डको ‘जादुमयी सङ्ख्या’ हुरी बनेर आयो । विना कारण एमालेजस्तो नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाहलाई कमजोर पार्न गरिएको साजिसलाई जनताले साथ नदिंदा पनि नेका र माओवादीको भोटले जेनतेन दश सिट पाएको यो पार्टी कसैको वैशाकी नभए एक सिट पनि जित्न नसक्ने अवस्थामा छ ।

माधव वामदेवहरू एमालेले बनाइदिएको आफ्नो अजिङगर रूपलाई खाइ सिध्याउने हो, शून्यमा जाने हो । विगतका परिणामले देखाएका छन्, उनीहरूको धरती कङ्गाल भइसकेको छ । भन्न परोइन, कम्युनिष्ट पार्टी बन्न सही विचार र त्यो विचारलाई बोकेर हिड्ने भिजनरी नेता-कार्यकर्ता चाहिन्छ । जननेता मदन भण्डारीको रहस्यमय हत्या भएपछि जबजको भारी लामो समय बोकेर हिंडेका माधव नेपाल र ‘जबजले नेपालमात्र होइन, विश्व-ब्रम्हाण्डको नेतृत्व गर्न सक्छ’ भन्ने वामदेवले यो बुढेस कालमा कुन फरक विचार र त्यो विचार बोक्ने पार्टी बनाउलान् ? यो मृगमरीचिका सिवाय केही हुन सक्दैन ।

यहाँ शून्यको उत्पत्तिको रमाइलो प्रशङ्ग उल्लेख गर्नु सान्दर्भिक हुनेछ । एकपटक एक ऋषि जङ्गलमा विचरण गरिरहेका थिए । एउटा बुढो अजिङ्गर आफ्नै पुच्छर खाएर बसिरहेको देखे । ऋषिले गोलाकार अवस्थामा रहेको त्यो अजिङ्गरलाई नियालेर हेरे । उनको सोझो निष्कर्ष थियो-यसरी नै यो अजिङ्गरले आफूले आफैंलाई खाइरहे एक दिन केही पनि रहन्न। अर्थात् शून्य ! अजिङ्गरको त्यही आकारबाट शून्य अङ्कको उत्पत्ति भयो भनिन्छ ।

माधव वामदेवहरू एमालेले बनाइदिएको आफ्नो अजिङगर रूपलाई खाइ सिध्याउने हो, शून्यमा जाने हो । विगतका परिणामले देखाएका छन्, उनीहरूको धरती कङ्गाल भइसकेको छ । भन्न परोइन, कम्युनिष्ट पार्टी बन्न सही विचार र त्यो विचारलाई बोकेर हिड्ने भिजनरी नेता-कार्यकर्ता चाहिन्छ । जननेता मदन भण्डारीको रहस्यमय हत्या भएपछि जबजको भारी लामो समय बोकेर हिंडेका माधव नेपाल र ‘जबजले नेपालमात्र होइन, विश्व-ब्रम्हाण्डको नेतृत्व गर्न सक्छ’ भन्ने वामदेवले यो बुढेस कालमा कुन फरक विचार र त्यो विचार बोक्ने पार्टी बनाउलान् ? यो मृगमरीचिका सिवाय केही हुन सक्दैन ।

सिंगापुरका निर्माता लिक्वान युले आफ्नो तीसवर्षे लामो प्रधानमन्त्रित्वबाट निवृत्त भएपछि पत्रकारले उनलाई सोधे-‘देश बनाउने मुख्य दुई कुरा के रहेछन ?’ उत्तरमा लीले भने, ‘ भिजन अफ द लिडर एन्ड क्वालिटी अफ द पिपुल ।’ आज अङकमाल गर्ने यी साचुरेटेड बिग बोसहरूसँग न देश बनाउने भिजन छ, न यिनका वरिपरि घुम्ने सीमित माानिसको क्वालिटी नै छ । अख्तियारले डामेका नेतासँग अत्यन्त विवादास्पद व्यक्ति वामदेवले आकाशे अङ्कमाल गर्दैमा नेपालको कम्युनिष्ट आन्दोलनमा केही भिन्नता आउँछ भन्नुचाहिँ आकाश चाटेर अघाइन्छ भन्नुसरह हो ।