जनता टाइम्स

४ श्रावण २०८२, आईतवार १९:५७

मितेरी सहकारी ठगीमा जोडिए नक्कली नोटका कारोवारी


काठमाडौं, साउन ४ । दश लाख नक्कली नोटसहित पक्राउ परेका व्यक्ति मितेरी सहकारी ठगी प्रकरणमा जोडिएको रहष्य खुलेको छ ।

सहकारी ठगीमा जोडिएका मुख्य व्यक्ति ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरेर ल्याएपछि अनुसन्धान गर्दा मितेरी सहकारी ठगी प्रकरणमा १० लाख नक्कली नोटसहित पक्राउ परेका व्यक्ति जोडिएको तथ्य खुलेको हो ।

नक्कली नोटमा जोडिएका ती व्यक्ति धादिङको धुनीवेशी नगरपालिका–९ निवासी सुवास खत्री रहेको प्रहरीले जनाएको छ । मितेरी सहकारी ठगी प्रकरणमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत असार १५ गते पक्राउ गरेको थियो । ज्योतिबहादुरसँग कनेक्सन भेटिएपछि खत्री पक्राउ परेको सिआइवीले जनाएको छ ।

खत्री पक्राउ परेपछि सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम) जाँच गर्दा उनी यसअघि १० लाख नक्कली नोटसहित पक्राउ परेका व्यक्ति रहेको तथ्य खुलेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खत्रीलाई २०८१ कात्तिक ७ गते पक्राउ गरेको प्रहरीको भनाई छ ।

खत्री रिकोनो इन्टरनेसनल प्रालिका सञ्चालक रहेको पाइएको छ । खत्रीले काभ्रे रोशी गाउँपालिका–२ घर भएका २९ वर्षीय आशिष थापालाई रिकोना इन्टरनेसनल प्रालिको माछापुच्छ्रे बैंकको खातामा १० लाख नगद जम्मा गर्न २०८१ भदौ २० गते पठाएका थिए ।

भौचर समेत भरेर नगद काउन्टरमा पेस भएपछि विद्युतीय उपकरणमार्फत रकम गन्ने क्रममा शंकास्पद देखिएको थियो । उक्त रकम माछापुच्छ्रे बैंकले थप परीक्षणका लागि भन्दै राष्ट्र बैंकमा पठाएको थियो । ती नोटहरू राष्ट्र बैंकले निष्कासन नगरेको भन्दै जाली रहेको ठहर गरेको थियो ।