जनता टाइम्स

६ श्रावण २०८२, मंगलवार १५:३४

पुष्पलाल र बिपीबाट आजकाे राजनीतिमा सिक्नुपर्ने सङ्घर्षको पाठ


-नवराज पथिक-

नेपालको आधुनिक राजनीतिक इतिहास केवल राजाहरूको दरबारभित्रको कथा मात्र होइन । आधुनिक नेपालको कुरा गर्दा राजा महाराजाका कुरा बढी आउने गर्दछन् । आधुनिक नेपालको इतिहास अब त्यो भन्दा निक्कै अगाडि बढिसेकेको छ ।

राजा महाराजाले आफ्नो सत्ताको लागि, आफ्ना सन्तानको लागि काम गरे । आफ्नो जहानियाँ शासन जोगाइराख्न उनीहरूले प्रयत्न गरे तर जनताको हातमा शासन सत्ता ल्याउनको लागि, जनताको मुक्तालागि नेपाली जनताका छोरा छोरीहरूले नै त्याग र बलिदान गरे । त्यसैको जगमा आजको लोकतान्त्रिक गणतन्त्र नेपा स्थापित भएको छ ।

गाउँ–गाउँका साना घरमा हुर्किएका, आम जनताको दुःख–दैनिक बिच सङ्घर्ष गरेका विचारशील व्यक्तिहरूको  त्याग, तपस्या र बलिदानको जगमा अहिलेको व्यवस्था उभिएको छ ।  त्यस्ता व्यक्तित्वहरूमा रामेछापमा जन्मिएका गङ्गालाल लगायतका चार सहिदको नाम सबैभन्दा पहिला आउँछ ।

त्यस्तै जनताको मुक्तिको आन्दोलनको जग बसाउने रामेछापमा जन्मिएका पुष्पलाल र सिन्धुलीको कोइराला खानदानमा जन्मिनुभएका बिपी कोइरालाको नाम अग्र पङ्तिमा आउने  गर्दछ । यी दुई नेताले फरक विचारधारा बोकेर पनि एउटै लक्ष्य–नेपाली जनताको मुक्ति र समतामूलक, लोकतान्त्रिक समाज निर्माणका लागि आजीवन सङ्घर्ष गर्नुभयो । नेपाली नागरिकको अधिकार प्राप्तिको आन्दोलनमा लडिरहनुभयो ।

नेपालको दुई भौगोलिक क्षेत्र–रामेछाप र सिन्धुलीले नेपाली राजनीतिलाई दुई अमूल्य र प्रेरणादायी विचारधारा दिएका छन्। आज ती जिल्ला–ती पृष्ठभूमिका नेताहरूको स्मरण गर्नु केवल अतीतको सम्मान होइन, वर्तमानको मूल्याङ्कन र भविष्यको निर्माणका लागि सशक्त दिशानिर्देश पनि हो। संयोग नै मान्नु पर्छ दुई मध्ये बिपीको स्मृति दिवस साउन ६ गते पर्दछ भने पुष्पलालको स्मृति दिवस साउन ७ गते पर्दछ ।

पुष्पलाल श्रेष्ठ : विचार र सङ्गठन निर्माणका अभियन्ता

नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता पुष्पलालको जन्म विसं १९८१ असार १५ गते पूर्व रामेछाप जिल्लाको भँगेरीमा पिता भक्तलाल र माता तुलसीकुमारीको कोखबाट भयो । पिता भक्तलाल मालपोत अड्डामा जागिर खान रामेछाप पुग्दा उहाँको जन्म भएको थियो ।

पिता भक्तलाल २००९ सालको अखिल नेपाल न्यून वैतनिक सरकारी कर्मचारीहरूको हडतालको क्रममा एक्सन कमिटीको अध्यक्ष पनि बन्नुभएको थियो। दाजु शहीद गङ्गालाल श्रेष्ठलाई गोली ठोकी मार्नु ठिक एक दिनअघि भद्रगोल जेलमा सपरिवार भेट्न जाँदा गङ्गालालले पुष्पलाललाई माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस् भन्नुभएको थियो । दाजुको यही बचन नै पुष्पलालको निम्ति राजनीतिमा प्रवेश गर्ने प्रेरणाको श्रोत बनेको थियो ।

विसं १९९८ सालमा पुष्पलाल श्रेष्ठले प्रेमबहादुर कंशाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजारामसँग मिलेर नेपाली प्रजातान्त्रिक संघको गठन गर्नुभयो । संघमा रहेका सदस्यले आआफ्नो रगतले प्रतिज्ञापत्रमा सही गरेर पार्टीमा लाग्नुपर्ने नियम थियो । संघले राणा शासनको विरोध तथा विद्यालयहरू खोली विभिन्न खालका (सिपमूलकसमेत) तालीम दिन्थ्यो। भारतमा पनि राणा विरोधी क्रियाकलाप बढाउने पुष्पलालले विसं १९९७ सालदेखि बन्दी जीवन बिताइरहेका नेपाल प्रजा परिषद्का नेताहरूसित गोप्य रूपले सम्पर्क राखी टङ्कप्रसाद आचार्यलगायत अरू नेताहरूको नेलसहितको फोटो सन् १९४२ मा भारत, पटनाबाट प्रकाशित हुने जनता पत्रिकामा प्रकाशित गर्न मद्दत गर्नुभयो। २००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसले नागरिक अधिकारको लागि गरेको आन्दोलनको नेतृत्व पुष्पलाल श्रेष्ठ, शम्भुराम श्रेष्ठ, स्नेहलता श्रेष्ठ, साहना प्रधान आदिले गर्नुभयो । जनताद्वारा गरिएको यही पहिलो जनआन्दोलनका कारण पद्म शमशेरले सुधारको कदम चाल्ने घोषणा गरे।

मार्क्सवाद–लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा कलकत्तामा पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो। २००६ सालमा भारतको कलकत्तामा भारत कम्युनिष्ट पार्टीका नेता अजय चक्रवर्तीसँगको भेटले उहाँको जीवनमा नयाँ मोड ल्यायो। त्यस बखत पुष्पलाल पश्चिम बङ्गालका कम्युनिष्ट नेता ज्योति बसुको नजिक हुनुहुन्थ्यो। पुष्पलालले नेपालमा साम्यवादी विचारधाराको व्यापक प्रचारप्रसार गर्न कम्युनिष्ट पार्टीको घोषणापत्र नेपालीमा अनुवाद गर्नुभयो।

सम्भवतः नेपाली भाषाको सबभन्दा पहिलो साम्यवादी साहित्य यही नै थियो। उहाँको विवाह साहन प्रधानसँग भएको थियो। उहाँ २०१५ सालको आम चुनावमा बन्दीपुर, २०१७मा पार्टी प्रभाव बिस्तार गर्न तेह्रथुम (लिम्बुवान) बजारमा पुग्नुभयो। २०१६ सालमा उहाँ सोभियत सङ्घमा सम्पन्न कम्युनिष्ट अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई सोही वर्ष चीन भ्रमण गर्नुभयो।

२०१७ साल पुस १ गते राजाबाट चालिएको कदम पछि भूमिगत र निर्वासित जीवन बिताउन बाध्य पुष्पलालले चारैतिर छरिएका कम्युनिष्टहरूलाई भेला गराई तेस्रो महाधिवेशन गर्नुभयो।

नेपाली कांग्रेस र कम्युनिष्टहरू मिलेर सङ्घर्ष गरेमा मात्र नेपालबाट निरङ्कुश पञ्चायती समाप्त हुन सक्छ भन्ने भविष्यवाणी गर्ने नेता पुष्पलालको २०३५नेपाली कांग्रेस र कम्युनिष्टहरू मिलेर संघर्ष गरेमा मात्र नेपालबाट निरङ्कुश पञ्चायती समाप्त हुन सक्छ भन्ने भविष्यवाणी गर्ने नेता पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा उपचार गराउँदागराउँदै निधन भयो।

पार्टी निर्माण र वैचारिक नेतृत्व

२००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्दै पुष्पलालले नेपालमा क्रान्तिकारी समाज परिवर्तनको आधिकारिक वैचारिक शिलान्यास गर्नुभयो। पार्टीको विधान, घोषणापत्र, कार्यदिशा सबैमा उहाँको वैचारिक छाप थियो। मार्क्सवादी–लेनिनवादी सिद्धान्तमा आधारित पार्टी बनाउँदै उहाँले जनताको वर्गीय शत्रु पहिचान गरेर किसान, मजदुर, युवालाई गोलबन्द गर्ने प्रयास गर्नुभयो।

भूमिगत संघर्ष र निजी जीवनको त्याग 

पुष्पलालको जीवन लगातार भूमिगत अवस्थामै बित्यो। उहाँले कहिल्यै पदको आकाङ्क्षा देखाउनुभएन, प्रचारमा जानुभएन, सम्पत्ति जोड्नुभएन। त्यो बेला राजनीतिमा लाग्नु भनेको जेल, यातना र दुःख हनु थियो। तर उहाँले कहिल्यै आफ्नो सिद्धान्त र पार्टी छोड्नुभएन।

वैचारिक स्पष्टता र नेतृत्वको संस्कार 

पुष्पलाल स्पष्ट विचारका नेता हुनुहुन्थ्यो । उहाँको लेखनमा वर्गीय संघर्ष, उत्पादन सम्बन्धको पुनर्संरचना, दलित–जनजाति मुक्ति, भूमिसुधार र शिक्षा सुधारको कुराहरू प्रस्ट पाइन्छ। उहाँले विचारको पाठ सिकाउँदै नेतृत्व उत्पादन गर्ने काम गर्नुभयो । उहाँले हो नेतृत्व संस्कारको निर्माण गर्नुभयो । जस्तोसुकै अप्ठेरो स्थितिमा पनि विचलित हुनु भएन । आफ्नै पार्टी भित्रबाट गद्दार पुष्पलालको आरोप लाग्दा पनि पार्टी, देश र जनताको पक्षमा लडिरहनु भयो ।

बिपी कोइराला : लोकतन्त्रको मार्गचित्र कोर्ने नेता

बिपी कोइरालाको जन्म १९७१ सालको भदौ २४ गते सिन्धुलीको दुम्जाका कोइराला खानदानको परिवारमा भारतको बनारसमा निर्वासित अवस्थामा भयो । पिता कृष्णप्रसाद कोइला परिवार सहित भारतमा निर्वासित जीवन बिताइरहेको बेला उहाँको त्यहीँ जन्म भएको थियो ।

बिपीको राजनीतिक जीवन विद्यार्थी कालमै भारतमा सुरु भएको थियो। उहाँ भारतको स्वतन्त्रता आन्दोलनमा संलग्न हुनुहुन्थ्यो, जसले उहाँमा लोकतान्त्रिक आन्दोलनको बीज रोप्यो ।

नेपाली कांग्रेसको स्थापना र सशस्त्र संघर्ष

२००३ सालमा नेपाली कांग्रेस गठन भयो । २००७ सालको क्रान्तिमा सशस्त्र विद्रोहमार्फत राणा शासनको अन्त्य भयो। नेपाली कांग्रेस पार्टीलाई बिपीले दर्शन र विचार दिनुभयो । जसको जगमा आज नेपाली कांग्रेस पार्टी अघि बढिरहेको छ ।

लोकतान्त्रिक समाजवादको अवधारणा

बिपीले लोकतन्त्रलाई मात्र पर्याप्त ठान्नुभएन। उहाँले सामाजिक न्याय सुनिश्चित नभई लोकतन्त्र अधुरो हुन्छ भन्ने ठहर गर्नुभयो। त्यसैले उहाँले लोकतान्त्रिक समाजवादको विचार अघि सार्नुभयो, जसमा व्यक्तिगत स्वतन्त्रता र सामाजिक उत्तरदायित्व दुवै एकसाथ हुन्छन्।

प्रधानमन्त्री भएर पनि पदको मोह नगर्ने उदाहरण

२०१५ सालमा पहिलो आम निर्वाचनपछि बिपी प्रधानमन्त्री बन्नुभयो । बिपीलाई १८ महिना भित्रै राजा महेन्द्रले अपदस्थ गरे । प्रजातन्त्र खोसे । त्यसपछि पनि उहाँको राजनीतिक यात्रामा जेल, निर्वासन, रोग र अपमानहरू सँगसँगै आए । तर उहाँले आफ्नो आदर्श कहिल्यै छोएनन्।

दुई नेताको विचारगत भिन्नता तर समान उद्देश्य

पुष्पलाल वर्ग संघर्ष, राज्य पुनर्संरचना र वैज्ञानिक समाजवादको पक्षमा हुनुहुन्थ्यो । बिपी उदार लोकतन्त्र र समाजवादको सन्तुलन खोज्दै हुनुहुन्थ्यो । दुई नेताहरूको बिचार फरक थियो । दर्शन अलग थियो । तर अन्तिम उद्देश्य एउटै थियो ।

उहाँहरूको उद्देश्य भनेको नेपाली जनताको मुक्ति थियो । नेपालको समृद्धि, उन्नति र प्रगति थियो । नेपाली जनतालाई स्वतन्त्रता दिनुपर्छ भन्ने उहाँहरूको मान्यता थियो । उहाँहरूले आफ्नो जीवनकालमा त्यो देख्न त पाउनु भएन र उहाँहरूको देहान्त पछि दुई पार्टीहरू नेपाली कांग्रेस र वामपन्थी शक्ति एक ठाउँमा उभिएर र निरङ्कुश राजतन्त्र विरुद्ध आन्दोलन गरे जसको परिणामस्वरूप २०४६ सालको आन्दोलन सफल भयो ।

फेरी राजाले हस्तक्षेप गरे । पुनः दुईपार्टी एक ठाउँमा उभिएर आन्दोलन गरे तब २०६३ सालमा जनआन्दोलन सफलय भयो र त्यसले राजसंस्थालाई नेपाली शासन सत्ताबाट सदाको लागि बिदा गर्‍यो । नेपालमा गणतन्त्र स्थापना भयो । सोही व्यवस्थालाई सफल बनाउन अहिले यिनै दुई ठुला पार्टीको संयुक्त सरकार छ । देशलाई समृद्ध बनाउने र व्यवस्थालाई बलियो बनाउने सोचका साथ दुई पार्टीले काम गरिरहेका छन् ।

आजको राजनीति र उहाँहरूबाट सिक्नुपर्ने पाठ

आजको राजनीतिमा विचारभन्दा गठबन्धन, सत्ता साझेदारी र लाभमा आधारित रणनीति हाबी छ । पुष्पलालले विचारलाई जीवन बनाउनुभयो ।  बिपीले आदर्शलाई व्यवहार बनाउनुभयो । उहाँहरूको यी दुई पाटालाई आजका नेता र नेतृत्वले सिक्न आवश्यक छ ।

हरेक कुरालाई आफ्नो अनुकूल व्याख्या गर्ने, आफूलाई अनुकूल हुँदा सबै ठिक, आफ्नो प्रतिकूल हुँदा सबै गलत भन्ने प्रवृत्ति आज मौलाउँदै गएको छ । जसले राजनीतिक मूल मर्म मर्दै गएको छ । राजनीतिमा निष्ठाको खडेरी बढेको छ । यसलाई रोक्ने उहाँहरूबाट आजको नेतृत्वले सिक्न आवश्यक छ ।

पुष्पलाल कहिल्यै पदको पछि लाग्ने भएन । पार्टीबाट निकाल्दा पनि उहाँ पार्टीकै लागि, विचारकै लागि लडिरहनुभयो । बिपी प्रधानमन्त्री भएर पनि त्यसको प्रचारमा लाग्नुभएन । अहिलेको राजनीति भने ‘मै’ केन्द्रित हुँदै गइरहेको छ। आजको राजनीतिले यसबाट पाठ सिक्नै पर्छ ।

त्याग र संयमको अभाव

अहिलेका नेताहरू सत्ता गुमेपछि संसार गुमेजस्तो ठान्छन् । सत्ताबाट बाहिरिएपछि संगठन जोगाउने होइन, विभाजन गर्ने, बिकाउने, भत्काउने कर्ममा नेताहरू लाग्छन् ।  तर पुष्पलालले जेल गएर पनि संगठन बनाउनुभयो । बिपीले पार्टीलाई सधैँ मूलधारमा राख्नु भयो । उहाँहरूबाट आजको नेतृत्वले यो कुरा सिक्नै पर्छ ।

पुष्पलाल–बिपीको आजको सन्दर्भमा सान्दर्भिकता

पुष्पलाल र बिपी दुवै राजनीतिक शिक्षा र चेतनालाई प्राथमिकता दिनुहुन्थ्यो । आज हरेक राजनीतिक दलमा त्यो कुरा मरेको छ । विचार र नीति बोकेर नेतृत्वमा आउने होइन पैसा र हुल बोकेर नेतृत्वमा आउने अवस्था छ ।

पार्टीमा काम र योगदानको कदर हुन छाडेको छ । जसले पैसा खर्च गर्न सक्छ, जसले मान्छे उफार्न सक्छ, अझ भन्ने हो भने जसले गुण्डागर्दी गर्न सक्छ, मौसम अनुसार परिवर्तन हुन सक्छ उही नेता बन्ने स्थिति छ । यसले पार्टीलाई सही दिशामा लैजाँदैन । यस्ता क्रियाकलापले नागरिकको मन जित्न सकिँदैन ।

आन्तरिक लोकतन्त्र र बहसको संस्कार

बिपीले पार्टीभित्र मतभिन्नता स्वीकार गर्नुहुन्थ्यो । पुष्पलालले पार्टीभित्र वैचारिक बहसलाई निरन्तरता दिनुहुन्थ्यो । आज आलोचनालाई षड्यन्त्र ठानिन्छ । चाकरीलाई बढवा दिइन्छ । कमजोरी औँल्याउँदा सहन क्षमता हराउँदै गएको छ ।

भनिन्छ असल साथीले अगाडी सधैँ गाली गर्छ, पछाडि सधैँ प्रशंसा गर्छ, तर अहिले ठिक उल्टो भएको छ । अगाडि प्रशंसा गर्ने पछाडि कुरा काट्ने प्रचलन बढेको छ । यसले पार्टी र नेतृत्वलाई नै संकटमा पार्दै लगेको छ ।

राष्ट्रवाद र विदेशी प्रभाव

पुष्पलाल र बिपी दुवै नेता सच्चा राष्ट्रवादी हुनुहुन्थ्यो । आज वैदेशिक सम्बन्ध वैधानिकभन्दा पनि वैयक्तिक घनिष्ठता, सन्देश वा खन्याउने प्रवृत्तिमा सीमित हुँदै गएको छ । यसले राष्ट्रलाई कमजोर बनाउँदै लगेको छ ।

राष्ट्र र राष्ट्रियताको पक्षमा बोल्ने नेतालाई चौतर्फी घेराबन्दी गरिन्छ । विदेशीबाट परिचालितहरूले खुल्ला आक्रमण गर्दा पनि आफ्नै पार्टीबाट प्रतिवाद र संरक्षण नहुने दुःखद अवस्था आज सिर्जना हुँदै छ ।

नयाँ पुस्ताका लागि बाटो देखाउने दुई गहना

नेपालका दुई भौगोलिक क्षेत्र रामेछाप र सिन्धुलीले देशलाई केवल भूगोल होइन, इतिहास पनि दिएका छन्। पुष्पलाल श्रेष्ठ र बिपी कोइरालाको जीवन एक ‘राजनीतिक विश्वविद्यालय’ हो, जसबाट नयाँ पुस्ताले विचार, सङ्गठन, त्याग र नेतृत्व सिक्न सक्छ।

आज देश अस्थिरता, भ्रष्टाचार, अवसरवाद र नेतृत्वको संकटमा डुबिरहेको छ। यस्तो बेलामा पुष्पलालले सिकाएको वैचारिक अडान र बिपीले सिकाएको लोकतान्त्रिक मूल्य नै नेपालको राजनैतिक पुनर्निर्माणको जग हुन सक्छ। अहिलेको नेतृत्वले ती मूल्य आत्मसात् गरेन भने जनता फेरि नयाँ ‘पुष्पलाल’ र नयाँ ‘बिपी’ को खोजीमा लाग्नेछन्।

पुष्पलाल र बिपीको योगदान सम्झिँदा केवल इतिहासको पुस्तक पल्टाउनु हुँदैन, ती विचारहरू वर्तमानमा जिउँदो बनाउनु पर्छ। राजनीतिलाई पेसा होइन, सेवाको माध्यम बनाउने दृष्टिकोण आजको पुस्ताले अङ्गाल्न सक्नुपर्छ।