इजरायल, साउन १० । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल सदैव शान्तिको पक्षमा रहेको बताउनु भएको छ ।
प्रवासी नेपाली मञ्च (ओएनएफ) इजरायलको तेस्रो राष्ट्रिय अधिवेशनको उदघाटन समारोहलाई इजरायलमा सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले जुनसुकै बहानामा हुने हिंसा र आतङ्कवादी गतिविधिको नेपालले विरोध गर्ने स्पष्ट पार्नुभयो । ‘हिंसा हिंसा नै हो, हिंसाको कुनै जात, धर्म रंग र रिजन हुँदैन भन्ने हामीलाई थाहा छ, नेपाल सदैव अतिवादीको विरुद्ध र शान्तिको पक्षमा छ,’ पूर्वपरराष्ट्रमन्त्रीसमेत रहनुभएका एमाले उपमहासचिव ज्ञवालीले भन्नुभयो ।
उहाँले इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपालीसहित सम्पूर्णप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । साथै हालसम्म बेपत्ता रहेका विपिन जोशीको खोजीमा नेपाल सरकार र इजरायल सरकार लागिरहेका बताउँदै उहाँले नेपालको कसैसँग वैरभाव र दुष्मनी नभएको स्पष्ट पार्नुभयो । युद्धसँग कुनै साइनो सम्बन्ध नरहेका ती निर्दाेश युवालाई जसले नियन्त्रणमा लिएका भए पनि छाडिदिन उहाँले आग्रह गर्नुभयो ।
‘म आशा गर्छु हामीले विपिन जोशीलाई सकुशल प्राप्त गर्न सक्ने छौँ र उहाँको बाटो कुरिरहेका उहाँका परिवारजनले ठुलो राहत पाउने छ, नेपाल सरकार उहाँहरूको पीडामा निरन्तर साथमा रहेको छ’, उहाँले भन्नुभयो ।
नेपाल र इजरायल झण्डै ७० वर्षदेखि निकट मित्रमा रहेका उहाँले स्मरण गराउनुभयो । दुवै देश ठुला ठुला देशका बिचमा आफ्नो अस्तित्व कसरी जोगाउने भन्ने चुनौतीमा रहेका उहाँको भनाई छ । ‘फरक यत्ति हो– इजरायल आफ्नो सैन्य बलमा आफ्नो देशको रक्षा गरिरहेको छ, हामी र शान्ति र कूटनीतिक माध्यमबाट आफ्नो राष्ट्रिय स्वाभिमान जोगाइरहेका छौं,’ ज्ञवालीले भन्नुभयो ।
एमाले उपमहासचिव ज्ञवालीले नेपाली युवालाई रोजगारी दिएर इजरायलले गुन लगाएको बताउनुभयो । नेपालले पनि आफ्नो तर्फबाट इजरायललाई सक्दो सहयोग गर्ने उहाँले जानकारी दिनुभयो । ‘दक्षिण एसियामा नेपाल पहिलो देश हो जसले स्टेट अफ इजरायललाई रिकोनाइज्ड् गरेको थियो’, उहाँले भन्नुभयो ।
इजरायलले विज्ञान प्रविधि, कृषि, ऊर्जा लगायतका क्षेत्रमा गरेको प्रगतिबाट नेपालले कसरी लाभ लिन सक्छ भनेर दुवै देशले छलफल गरिरहेका उहाँले बताउनुभयो । त्यसबाट नेपालले लाभ लिनु पर्ने उहाँको धारणा छ ।
ज्ञवालीले संघीयताका कार्यान्वयन गर्दै बढी भन्दा बढी अधिकार जनताको आँगनसम्म पुर्याउन आफूहरूको लक्ष रहेको उहाँले बताउनुभयो । सङ्घीयताको उद्देश्य भनेकै जनताको नजिक सरकारलाई पु¥याउनु हो’, उहाँले भन्नुभयो ।
उहाँले निराशा होइन देश बन्दै गरेको कुराको चर्चा गर्नुपर्नेमा जोड दिनुभयो । गर्न बाँकी धेरै कामको लिष्ट बन्न सक्ने भए पनि नेपालमा गर्व गर्न लायकको काम भएको ज्ञवालीले बताउनुभयो । नेपालले गरेको प्रगतिबाट विश्व चकित भएको उहाँको दाबी छ । ‘हामीले पाइला पाइलामा प्रगति गरिरहेका छौँ, नकारात्मक कुराहरू मात्र नगरौँ’, उहाँले भन्नुभयो ।
अहिले दुईवटा ठुला पार्टी मिलेर संयुक्त सरकार बनेको बताउँदै देशलाई राजनीतिक स्थिरता दिन यसो गर्नुपरेको बताउनुभयो । अनेकौँ प्रयत्न गर्दा पनि सफल नभए पछि दुई ठुला दल मिल्नु परेको उहाँले जानकारी दिनुभयो । एमाले र कांग्रेस प्रतिष्पर्धी मात्र नभएर देश परिवर्तनका सहयात्री भएको उहाँले स्पष्ट पार्नुभयो । ‘यो सहकार्य राजनीतिक स्थिरताका लागि हो, देशको अर्थतन्त्र विकासका लागि हो’, उहाँले भन्नुभयो ।
दुई दलको एक वर्षको सहकार्यले देशको अर्थतन्त्रमा उल्लेख्य सुधार देखिएको ज्ञवालीले बताउनुभयो । शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पुर्याउन सङ्क्रमणकालीन न्यायको काम पनि अघि बढेको उहाँले जानकारी दिनुभयो । नयाँ सरकार आए पछि दुवै छिमेकीसँगको सम्बन्ध पनि सुधार हुँदै गएको ज्ञवालीले स्पष्ट पार्नुभयो ।
राज्य कमजोर भएको मौका पारेर सहकारीमा ठुलो ठगी भएको बताउँदै उहाँले अहिले त्यस्तो काम गर्ने मानिसहरू कारबाहीको दायरामा आएका स्पष्ट पार्नुभयो । गल्ती गर्ने कसैलाई पनि सरकारले नछाड्ने ज्ञवालीले दाबी गर्नुभयो ।
अहिले देशमा आशा र विश्वासको वातावरण बन्दै जाँदा अस्थिरतामा खेल्न चाहनेलाई यो कुरा मन नपरेको उहाँले बताउनुभयो । अस्थिरता अन्त्यको लागि आउने निर्वाचनको लागि एमालेले एमालेको एकल बहुमतको सरकार बन्नु पर्छ भनेर आफूहरू लागिरहेको उहाँले जानकारी दिनुभयो । देशमा एमाले भएकोले देश राम्रो बन्ने र बनाउन सकिने धारणा ज्ञवालीले राख्नु भयो । नेपाल हरेक अप्ठेरासँग जुधेर अघि बढेको देश भएको बताउँदै उहाँले नेपाल र नेपाली अघि बढ्न सक्ने स्पष्ट पार्नुभयो ।
कार्यक्रमका शिशिष्ठ अतिथी प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले ओएनएफले बिश्वभर समृद्ध नेपाल निर्माणको अभियानमा सघाउने अभियान चलाएको भन्दै इजरायलमा रहेका नेपालीले पनि यो काममा सघाउने श्विास ब्यक्त गर्नुभयो । थापाले सन २०२३ अक्टोबर ७ का दिन इजरायलमा भएको त्रासदीपुर्ण घटनाबारे ज्योती शर्माले आफूलाई जानकारी दिएको भन्दै ओएनएफले इजरायलमा रहेका नेपालीलाई सक्दो सहयोग गरेको जााकारी दिनुभयो ।
अध्यक्ष थापाले ओएनएफमा अराजकता स्वीकार्य नहुने भन्दै पार्टी नीति र नेतृत्वको पक्षमा दृढतापुर्वक अभिने पनि प्रष्ट पार्नुभयो । ‘अनुशासनको पालनाबिना न संगठन बन्छ, नत पार्टी नै बन्छ, समाज पनि बनाउन सकिन्न । यी सवै कामका लागि अनुशासनको पालना अनिवार्य छ,’ थापाले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्