जनता टाइम्स

१२ श्रावण २०८२, सोमबार १७:०४

लुम्बिनीमा नवनियुक्त युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण 


रुपन्देही, साउन १२। लुम्बिनी प्रदेशमा नव नियुक्त युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष पाण्डेले सोमबार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथ लिनुभएको हो। शपथ समारोहमा प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, अन्य मन्त्रीहरू र उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

मुख्यमन्त्री आचार्यले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै लोसपा संसदीय दलका नेता सन्तोष पाण्डेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिनुभएको हो। एक वर्षदेखि मुख्यमन्त्री आफैँले सम्हाल्दै आउनुभएको मन्त्रालय अब औपचारिक रूपमा मन्त्री पाण्डेले सम्हाल्नुभएको छ।

मन्त्री पाण्डे यसअघि पनि लुम्बिनी प्रदेश सरकारका तर्फबाट तीनपटक मन्त्री भइसक्नु भएको छ। प्रदेशमा गठन भएका पाँचवटा सरकारमध्ये चारवटामा सहभागी भइसकेका पाण्डे रुपन्देहीको भैरहवाबाट प्रतिनिधित्व गर्नुहुन्छ।

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तारसँगै अहिले मन्त्रिमण्डलको सदस्य सङ्ख्या १२ पुगेको छ।