जनता टाइम्स

१४ श्रावण २०८२, बुधबार ०८:२३

ल्हेन्दे खोलामा आएको बाढीले टिमुरे भन्सार यार्डमा रहेको धर्मकाटा बगायो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह 


काठमाडौं, साउन १४ ।  गएराति २ बजेदेखि रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ ल्हेन्दे खोलामा आएको बाढीले टिमुरे भन्सार यार्डमा रहेको धर्मकाटा बगाएको छ।

चीनतर्फबाट आएको बाढीले साे घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। अहिले पनि खोलाको बहाव उच्च रहेको भन्दै प्राधिकरणले त्रिशूली र भोटेकोशी नदी आसपासका जिल्लाहरू रसुवा, नुवाकोट र धादिङका नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। ल्हेन्दे खोला रसुवाको प्रमुख जलप्रवाहमध्ये एक हो । जुन चीनको भूभागबाट नेपाली भूभागमा प्रवेश गर्छ। यस्तो प्रकृतिको खोला वर्षाको मौसममा एक्कासि बाँध फुटेजस्तो गरी बग्ने हुँदा त्यसले ठुलो क्षति पुर्‍याउने जोखिम रहन्छ।

चीनतर्फ निरन्तर वर्षा भइरहेको र त्यहाँको भू–बनोट पहिरो जाने खालको भएकोले नदी तटीय क्षेत्रमा उच्च जोखिम बढेको छ। यो बाढीका कारण टिमुरेमा रहेको भन्सार यार्डमा सिमसार सुरक्षाका लागि निर्माण गरिएको धर्मकाटा पूर्ण रूपमा बगाएको छ ।  

स्थानीय प्रशासन र सुरक्षाकर्मीहरू सतर्क अवस्थामा छन् भने बाढीको बहाव अझै घटिनसकेको भन्दै जोखिमयुक्त गतिविधिबाट टाढा रहन आग्रह गरिएको छ। खास गरी नदी किनारमा दाउरा टिप्न जानु, खोला तर्नु वा नजिक पुगेर हेर्नुजस्ता कार्य घातक बन्न सक्ने भएकाले यस्ता गतिविधिमा संलग्न नहुन चेतावनी दिइएको छ।

रसुवासँगै नुवाकोट र धादिङ जिल्लाका तटीय क्षेत्र पनि प्रभावित हुने सम्भावनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन भनिएको छ। त्रिशूली नदी किनारका बस्तीहरूमा पानीको बहाव उच्च रहेकाले विशेष सावधानी आवश्यक देखिएको हो।

धादिङ जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा गल्छी, गजुरी, सिद्धलेक, बेनिघाट रोराङ गाउँपालिका क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ। यसका साथै गोरखा र चितवन जिल्लाका त्रिशूली किनारका बस्तीहरूलाई समेत सतर्क रहन अनुरोध गरिएको छ। सुरक्षाकर्मीहरूले जोखिम क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई नदी नजिक जानबाट जोगिन र आवश्यकता परेमा सुरक्षित स्थानमा सर्न पनि सुझाव दिएका छन्।

स्थानीय तह र विपद् व्यवस्थापन समितिहरू सम्भावित उद्धारका लागि तयारी अवस्थामा राखिएको छ भने प्रहरी, रेडक्रस र स्वयंसेवकहरूलाई तयारी अवस्थामा राखिएको छ। यस्तै, नागरिकलाई आधिकारिक सूचना बाहेक हल्लामा नपर्न आग्रह गर्दै सूचना प्राप्त हुने बित्तिकै सुरक्षित स्थानतर्फ जान प्रशासनले अनुरोध गरेको छ।

बर्खाको समयमा सीमावर्ती नदी–खोलामा आउने आकस्मिक बाढीले विगतमा पनि मानवीय र भौतिक क्षति पुर्‍याउँदै आएको छ।  हाल खोलाको बहाव उच्च नै रहेकाले सुरक्षित बसोबास गर्न, खोला आसपास नजान, बालबालिकालाई नदी किनारमा खेल्न नदिन र आपत्कालीन अवस्थामा उद्धार टोलीलाई सहज वातावरण दिन पनि स्थानीय प्रशासनले आग्रह गरेको छ।