जनता टाइम्स

१५ श्रावण २०८२, बिहीबार १४:१६

नेपाल बन्छ, हामीले गरेर देखाउनुपर्छ : प्रधानमन्त्री 


काठमाडौं, साउन १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बनाउन नेपाली नै लाग्नु पर्ने बताउनुभएकाे छ । हिम्मत नहार्ने र भविष्यप्रति आसावान् युवा उद्यमीहरूले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न योगदान दिने ओलीले बताउनुभयाे ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित ‘प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भविष्यलाई परित्याग गरिएमा केही पनि बाँकी नरहने बताउनुभयाे । विकसित मुलुकको सुन्दर भविष्यप्रति आशावादी भएर हामी सक्छौँ भन्ने भावका साथ लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

“हामी सन् २०२६ मा विकसित मुलुकमा स्तरोन्नति हुँदै छौँ, त्यसपछि विकसित मुलुकमा पुग्नेछौँ, हाम्रो देश अरुले आएर बनाइदिँदैन, हामीले नै बनाउने हो’, उहाँले भन्नुभयाे ।

प्रविधिको प्रयोग, विकास र अभ्यासका आधारमा आधुनिकीकरण र उत्पादन वृद्धिमा लाग्नु पर्नेमा उहाँले जाेड दिनुभयाे । ‘हामी सबै लागेमा हामीले सक्छाैँ, नेपाल बन्छ’, उहाँले भन्नुभयाे ।

कार्यक्रममा नेपाली उद्यमीका विविध उत्पादन स्टलको प्रधानमन्त्रीले अवलोकन गर्नुभएको थियो ।