जनता टाइम्स

१८ श्रावण २०८२, आईतवार १८:३६

थारु आयोगमा लफडा, सदस्यले कार्यकक्षमै थुनिदिइन कार्यबहाक अध्यक्ष


काठमाडौं, साउन १८ । थारू आयोगकी सदस्य शान्ति मोदीले कार्यवाहक अध्यक्ष सुबोध सिंह थारूलाई आइतबार कार्यकक्षमै थुनिदिनुभएको छ ।

आफूलाई अनावश्यक यातना दिएको भन्दै मोदीले कार्यबहाक अध्यक्षलाई कार्यकक्षमै थुनिदिनुभएको हो । हाजिरी गर्न नदिने, बिदाका लागि दिएको निवेदन पनि स्वीकृत नगर्ने गरेका कारण आफूले ५-१० मिनेटका लागि कार्यकक्षमा थुनिदिएको मोदीले बताउनु भयो ।

‘म १४ गते बुधबारदेखि कार्यालयमा आए पनि कार्यवाहक अध्यक्षले हाजिरी गर्न दिएनन् । विदाका लागि दिएको निवेदन पनि स्वीकृत नगरेपछि मैले १० मिनेट जतिका लागि थुनिदिएको हो,’ मोदीले भन्नुभयो । मोदीले आफू मानव अधिकारको विद्यार्थी समेत भएको कारण १० मिनेटमै ताला खोलिदिएको जानकारीसमेत दिनुभयो ।

बिदा लिइसकेकी मोदी सो समयभन्दा अगाडि नै आउँदा हाजिर गर्न नदिइएको थियो । मोदीले असार १३ देखि १९ गतेसम्म घर बिदा स्वीकृत गराउनु भएको थियो । साउन १४ गते बुधबार आएपछि आफूले थप २२ दिनको बिदा स्वीकृतिका लागि निवेदन दिए पनि बिदा स्वीकृत नगर्ने र हाजिरी पनि गर्न नदिने भएपछि थुन्न बाध्य भएको मोदीको जिकिर छ । कार्यबहाक अध्यक्षले भने अराजकताको पराकाष्टा भन्ने टिप्पणी गर्नुभएको छ ।