जनता टाइम्स

२० श्रावण २०८२, मंगलवार १७:१९

छानविन समितिको प्रतिवेदनपछि सभापति खतिवडा : मेरो नाम किटान गरेको छैन, राजीनामा दिन्न


काठमाडौं, साउन २० । प्रतिनिधिसाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले छानबिन समितिले बुझाएको प्रतिवेदनमा आफूलाई दोषी किटान नगरेको दाबी गर्नुभएको छ ।

संसदीय समितिले प्रतिवेदन सदनमा बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै खतिवडाले यस्तो जिकिर गर्नुभएको हो । उहाँले आफूले नै समितिको माग गरेको र दोषी देखिए आफू कारबाही भोग्न तयार रहेको सुरुदेखि नै भन्दै आएको बताउनु भयो । यस्तै खतिवडाले आफ्नो समन्वयमा मात्रै कमी औल्याइएको भन्दै राजीनामा नदिने प्रष्ट पार्नुभयो ।

‘मैले दोष देखिए कारबाही भोग्छु भनिरहेको छु। कुलिङ पिरियड रहनुपर्छ भन्ने पक्षमा छु। राष्ट्रियसभाले सच्याएर ल्याओस् भन्ने पक्षमा छु,’ सभापति खतिवडाले भन्नुभयो । उहाँले आफूले हस्ताक्षर गरेकोमा कुलिङ पिरियड रहेको र समितिले नाम किटान नगरेको भन्दै राजीनामा नदिने बताउनु भयो ।