जनता टाइम्स

२९ कार्तिक २०७६, शुक्रबार १४:१६

एनएमबि बैंकको नाफा ४८ प्रतिशतले वृद्धि


काठमाडौं, कात्तिक २९ । चालु आर्थिक वर्षको प्रथम तीन महिनामा एनएमबि बैंकको खुद नाफा ४८ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको प्रथम तीन महिनामा ५५ करोड ५ लाख नाफा गरेको यस बैंकले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा ८१ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको जारी विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्ती अनुसार बैंकको निक्षेप २४ प्रतिशतले वृद्धि भएको छ । २०७५ असोजमा ९७ अर्ब निक्षेप रहेकोमा हाल १ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप भएको छ । कर्जा सापटी पनि ८८ अर्ब बाट बढेर १ खर्ब १० अर्ब रुपैयाँ भएको छ । बैंकको सेयर पुँजी पनि ९ अर्ब ६१ करोडबाट ११ अर्ब ५१ करोड रुपैयाँ भएको छ । बैंकको वासलात एक वर्षमा १ खर्ब ३५ अर्ब रुपैयाँबाट १ खर्ब ६८ अर्ब रुपैयाँ भएको छ । यी सबै सूचकाङ्कमा आएको वृद्धि नेचुरल ग्रोथबाट भने होइन । एनएमबी बैंकमा ओम डेभलपमेन्ट बैंक विलय भएकोले वासलात, नाफा, पुँजी, निक्षेप, कर्जा सबै वृद्धि भएको हो ।

बैंकका केही परिसूचक भने खराब भएका छन् । बैंकको खराब कर्जा शून्य दशमलव ७६ प्रतिशतबाट बढेर १ दशमलव ९७ प्रतिशत भएको छ । नेटवर्थ प्रतिसेयर १७ रुपैयाँले घटेर १८२ रुपैयाँ ४० पैसा भएको छ । बेस रेट ९.९३ बाट १०.३३ मा चढेको छ र प्रतिसेयर मूल्य आम्दानी अनुपात ११.७५ रहेको सो बैंकले जनाएको छ ।