जनता टाइम्स

२० श्रावण २०८२, मंगलवार २१:५१

सूचना तथा प्रसारण विभागद्वारा अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण स्थगित, अब जिल्ला प्रशासन कार्यालयबाट दर्ता गर्नुपर्ने  


काठमाडौं, साउन २० । सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यमहरूको दर्ता तथा नवीकरणको कार्य स्थगन गरेको छ।

विभागले सूचना जारी गर्दै अनलाइन पत्रिका दर्ता प्रक्रिया अब जिल्ला प्रशासन कार्यालयमार्फत हुने जनाएको छ । विभागका अनुसार सरकारले छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा संशोधन गरी नयाँ व्यवस्था लागू गरेको छ। सो ऐनमा हालै थपिएको दफा ७(ख) अनुसार अब अनलाइन सञ्चारमाध्यम दर्ता स्थानीय अधिकारी समक्ष हुने छ। अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न इच्छुक व्यक्तिले तोकिएको दस्तुरसहित स्थानीय प्रशासन अर्थात् जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ। त्यसपछि स्थानीय अधिकारीले आवश्यक जाँचबुझ गरी दर्ता गर्न सक्ने प्रावधान राखिएको छ।

विभागले विगतमा लागू अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ अनुसार हुँदै आएको दर्ता तथा नवीकरण प्रक्रिया नयाँ कानुनी व्यवस्थासँग मेल खुवाउन आवश्यक भएकाले सो प्रक्रिया हालका लागि स्थगित गरिएको स्पष्ट पारेको छ।