जनता टाइम्स

२६ बैशाख २०७६, बिहीबार ०७:४९

नेकपाको एकता : जेठ ३ मा घोषणा गर्ने सहमति


काठमाडौं, बैशाख २६

सत्तारुढ नेकपाका शीर्ष नेताहरूले बाँकी एकता ३ जेठमा घोषणा गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार भएको छलफलमा शीर्ष नेताहरू पार्टी एकताको वार्षिकोत्सव ३ जेठमा पोलिटब्युरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजन र जनसंगठनहरूको एकीकरण गर्ने सहमतिमा पुगेका हुन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको छलफलबाट तीनवटै विषय टुंगिएकाले केही दिनभित्रै घोषणाको तयारी भइरहेको बताउनुभयो । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफलमा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादल पनि सहभागी हुनुहुन्थ्यो  ।

प्रधानमन्त्री ओली आज कम्बोडिया भ्रमणमा जाँदै हुनुहुन्छ । आगामी १ जेठमा उहाँ फर्किएपछि सचिवालय बैठकबाट अन्तिम टुंगो लगाएर ३ जेठमा घोषणा गर्ने नेताहरूबीच समझदारी बनेको हो । तत्कालीन एमाले र एमाओवादी केन्द्रबीच एकीकरण भएको ३ जेठमै एक वर्ष पुग्दै छ । सचिवालय बैठकबाट पारित नभइसकेकाले शीर्ष नेता सहमतिबारे खुलेर बोल्न चाहेका छैनन् ।

चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीको एकतिहाइ रहने गरी एक सय ४७ सदस्यीय पोलिटब्युरो गठन गर्ने नेकपाको तयारी छ । पोलिटब्युरोमा साबिक एमालेबाट ८१ र माओवादीबाट ६६ जना रहने समझदारीअनुसार नेताहरूले सूची बनाएका छन् । एमालेबाट साबिक पोलिटब्युरो सदस्यबाहेक दुईपटक केन्द्रीय सदस्य भइसकेका मध्येबाट वरिष्ठताका आधारमा सूची तयार भएको छ ।

पूर्वमाओवादीबाट भने अध्यक्ष प्रचण्डले साबिक केन्द्रीय सचिवालय सदस्यमध्ये रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठसँगको परामर्शमा वरिष्ठताको मर्यादाक्रममा अगाडि रहेकालाई समेटेर सूची बनाउनु भएको छ । स्थायी समितिका नेताहरूलाई केन्द्रीय विभाग, पोलिटब्युरो सदस्यलाई जिल्ला इन्चार्ज, केन्द्रीय सदस्यहरूलाई सहइन्चार्ज र क्षेत्रीय इन्चार्ज तथा विभिन्न जनवर्गीय संगठन र प्रतिष्ठानको इन्चार्ज बनाउने गरी कार्यविभाजनको प्रस्ताव बनिरहेको छ ।

‘एकता हुन लागेपछि नेताहरूबीच कचिंगल पैदा गर्ने प्रयास भएको थियो, तर हामीले परास्त गरेर एकता ग¥यौँ । अहिले पनि तल्ला कमिटीमा एकता प्रक्रियामा ढिलाइ हुँदा के हो भन्याजस्तो प्रचारबाजी भइरहेको छ । तर, हामीले केही दिनअघि जिल्ला कमिटीको एकता टुंग्याएपछि बुधबारको छलफलबाट एक कदम अघि बढिसकेका छौँ । पोलिटब्युरो बनाउने, कार्यविभाजन गर्ने, जनसंगठनहरूको एकता गर्ने प्रक्रियामा हामी अन्तिम टुंगोमा पुगेका छौँ । केही दिनभित्र यो घोषणा मिडियाकर्मीले लेख्न पाउनुहुनेछ । आमनेपाली, प्रगतिशील पक्षधरहरूका निम्ति त्यो खुसीको कुरा हुनेछ,’ बैठकपछि अध्यक्ष प्रचण्डले भन्नुभयो ।