कपिलवस्तु, साउन २६ । कपिलवस्तुको विजयनगर गाउँपालिका र बाणगंगा नगरपालिकामा भूमिहीन सुकुम्वासीलाई जग्गाधनी प्रमाण–पत्र (लालपुर्जा) वितरण गरिएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले शनिबार लालपुर्जा हस्तान्तरण गर्नुभएको हो। वर्षौँदेखि बसोबास गर्दै आए पनि कानुनी स्वामित्व नपाएका घरधुरीलाई पहिलो पटक लालपुर्जा प्रदान गरिएको हो। विजयनगर गाउँपालिका–१ जबाबैराठका २१ घरधुरी र बाणगंगा-७ को मोतिपुरडाँडामा रहेका २८ घरधुरीले एक महिनाभित्रै लालपुर्जा प्राप्त गरेका हुन्।
मन्त्री अधिकारीले यस वर्ष ५ लाख घरधुरीलाई लालपुर्जा वितरण गर्ने लक्ष्य रहेको बताउनुभयो। उहाँका अनुसार करिब १५ लाख घरधुरीका भूमिहीन सुकुम्वासी र भूमि–सम्बन्धी समस्यामा रहेका परिवारलाई लालपुर्जा वितरण गर्ने तयारी छ।
विजयनगर गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले २५ दिनमै लालपुर्जा वितरण गर्ने गरी काम सम्पन्न गरेको बताउँदै भूमि आयोगलाई धन्यवाद दिनुभयो। जबाबैराठमा असार २९ देखि साउन १ गतेसम्म नापी सम्पन्न भएको थियो। त्यसपछि एक हप्ते दाबी–विरोध र १५ दिनको राजस्व दाखिला प्रक्रिया पूरा भएपछि लालपुर्जा वितरण सम्भव भएको हो।
मोतिपुरडाँडामा असार १३ गते सुरु भएको नापी प्रक्रिया एक सातामै पूरा भएको थियो। आवश्यक प्रक्रिया पूरा गरी २८ घरधुरीले लालपुर्जा प्राप्त गरेको वडा अध्यक्ष विष्णु गिरीले जानकारी दिनुभयो।
लालपुर्जा वितरण कार्यक्रममा प्रतिनिधि सभा सदस्य सिराज अहमद फारुकी, भूमि आयोग कपिलवस्तुका अध्यक्ष झवीलाल पोख्रेल, प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङलगायतले मन्तव्य राख्नुभएको थियो।












प्रतिक्रिया दिनुहोस्