काठमाडौ, २६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डिपी) अर्यालको सुमिरे टुर एन्ड ट्राभल्सबाट भिजिट भिसामा कोरिया र डेनमार्क पुगेका केही व्यक्ति उतै लुकेको पाइएको छ। नेपाल स्काउटको लोगो देखाई टिकट काटेर गएका उनीहरू उतै लुकेका हुन्।
नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले दर्जनौं ट्राभल एजेन्सीले भिजिट भिसामा पठाएका नागरिकको विवरण अनुसन्धान गर्ने क्रममा यो तथ्य फेला पारेको हो। ब्युरोले भने यो विषयलाई गोप्य राख्न खोजेको छ। ब्युरोका एक अधिकारीका अनुसार स्काउट प्रतिनिधिहरूलाई यो विषयमा सोधपुछ गरिएको छ।
स्रोतले दिएको विवरण अनुसार स्याङ्जाका कानुन लामिछाने डेनमार्क पुगेर फर्केका छैनन्। उनीसहित २० जना स्काउटको कार्यक्रममा भाग लिन डेनमार्ग पुगेका थिए। उनीसँग धेरैजसो विद्यार्थी गएका थिए। विद्यार्थी भने फिर्ता आएको तर लामिछाने उतै बसेको बताइएको छ।त्यसैगरी सन् २०२३ मा दक्षिण कोरियामा भएको विश्व स्काउट ज्याम्बोरीमा सहभागी हुन एक सय ६३ जना गएका थिए। त्यसमध्येका तीन जना उतै लुकेका थिए। उतै लुक्नेमा मेगाकुमारी रेउले, पाल्देन तामाङ र सचिन थोकर हुन्।
त्यहाँ सुरुमा रसिला राई लुके पनि केही समयपछि नै फर्केकी थिइन्। आफ्नै खर्च हुने भएकाले उनीहरूमध्ये ९५ प्रतिशतले सुमिरे ट्राभल्सबाट टिकट लिएका थिए। उक्त ट्राभल एजेन्सी सञ्चालन गर्दै आएका अर्यालले भने यो विषय स्काउटको भएकाले आफूलाई सबै कुरा जानकारी नभएको र लामो समयदेखि ट्राभल एजेन्सी आफूले नहेरेको बताए। ‘यसमा हाम्रो ट्राभल्सको कुनै नाता छैन, हुँदैन पनि। मैले ट्राभल्स नहेरेको धेरै वर्ष भयो। कति जना गएका थिए, कसले पठायो भन्ने सम्बन्धमा मलाई जानकारी छैन। पठाएको स्काउटले हो, स्काउट नै जिम्मेवार हुन्छ। यो विषयमा स्काउटलाई नै सोध्नुभयो भने सबै विवरण उपलब्ध हुन्छ,’ अर्यालले बताएका छन् ।
स्काउटले उनीहरू कोरिया र डेनमार्क गएको र टिकट लिएको सबै विवरण प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोलाई उपलब्ध गराएको छ। उपलब्ध विवरणमा स्काउटका नाममा उनीहरू गएको र आफैंले पैसा तिरेर सुमिरे ट्राभल्सबाट टिकट काटेको खुल्न आएको छ। कोरिया र डेनमार्ग पुगेकाहरू नफर्केपछि स्काउटले त्यहाँको प्रहरीलाई पनि यसबारे जानकारी गराएको थियो। तर त्यहाँको प्रहरीले वास्ता नगरेको बताइएको छ।
नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले कोरिया र डेनमार्ग पुगेका केही व्यक्ति लुकेको स्वीकार गर्नुभएको छ। ‘उहाँहरू लुकेको कुरा सत्य हो। हामीले त्यहाँको प्रहरीलाई पत्राचार गरेर लुकेर बसेकालाई फिर्ता पठाइदिन आग्रह गर्यौं तर फिर्ता भएको अवस्था छैन। जानुअघि लुक्दैनौं भन्ने कागजात पनि गराएका थियौं। यससम्बन्धी सबै विवरण हामीले प्रहरीलाई उपलब्ध गराएका छौं,’ भट्टराईले भन्नुभयो। भट्टराईले पनि सुमिरे ट्राभल्सबाट उनीहरूले टिकट काटेको बताउनुभयो ।
जापानमा भिजिट भिसाका नाममा मानिस पठाउँदा अर्बौं रुपैयाँ लिएर बदमासी गरेको आरोप लागेपछि नेपाल प्रहरीले यो विषयमा चासो राख्दा एक जना डेनमार्क र तीन जना कोरियामा लुकेको भेटिएको थियो। विगत १० वर्षदेखि भिजिट भिसामा जापान पठाउँदै आएको सो ट्राभल्सबारे संसद्मा समेत कुरा उठेपछि नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ।
‘हामीले यो विषयमा चासो राखेका थियौं तर अहिलेसम्म केही फेला परेको छैन,’ ब्युरोका एक प्रहरी अधिकृतले भन्नुभयो । प्रतिनिधिसभामा ओखलढुंगाका सांसद रामहरि खतिवडाले असार १४ मा सुमिरे टुर एन्ड ट्राभल्सले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा पठाएका हजारौं मानिसबाट अर्बौं रुपैयाँ लिएर बदमासी गरेको आरोप लगाएका थिए। सो आरोपपछि प्रहरीको मानव बेचबिखन ब्युरो सक्रिय भएको थियो।













प्रतिक्रिया दिनुहोस्