जनता टाइम्स

२६ श्रावण २०८२, सोमबार १८:००

पूर्वाधार निर्माणमा भइरहेको समस्या समाधान गर्न वित्त परिचालन विधेयक महत्त्वपूर्ण : अर्थमन्त्री पौडेल


काठमाडौं, साउन २६ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राज्यले पूर्वाधारमा लगानी गर्न सञ्चित कोषबाट रकम जुटाउन नसकेको अवस्थामा वैकल्पिक रूपमा वित्त परिचालन गर्न सक्ने व्यवस्थाका लागि वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ल्याइएको प्रष्ट पार्नुभएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आज बसेको बैठकमा उक्त विधेयकमाथिको दफावार छलफलका क्रममा अर्थमन्त्री पौडेलले यस्तो जानकारी दिनुभएको हो । उहाँले मुलुकका लागि फाइदाजनक रहेको विकासे आयोजनाहरूमा लगानी सुनिश्चित गर्ने विकल्पका रूपमा वैकल्पिक विकास वित्त परिचालनको अवधारणा ल्याएको बताउनु भयो।

राज्यको सञ्चित कोषबाट रकम जुटाउन नसकी पूर्वाधार निर्माणमा भइरहेको समस्या समाधान गर्न विधेयक महत्त्वपूर्ण हुने उहाँको भनाई छ । अर्थमन्त्री पौडेलले उच्च आर्थिक प्रतिफल दिने आयोजनाको विकास गर्ने लक्ष्यका साथ विधेयक ल्याइएकाले प्रतिफल दिने खालका आयोजनाहरूलाई प्राथमिकतामा राख्ने पनि बताउनु भयो । यस्तै उहाँले आयोजनाको छनोटका सम्बन्धमा पनि विधेयकमा स्पष्ट व्यवस्था गरिएको जानकारी दिनुभयो।

बैठकमा विधेयकका केही दफामा छलफल गरी टुङ्गोमा पुर्‍याइएको छ। विधेयकमाथि सांसदहरूले ६६ संशोधन दर्ता गराएका थिए। मुलुकको समृद्धि, दिगो विकास तथा उत्पादकत्व वृद्धिका लागि अत्यावश्यक पूर्वाधार परियोजना कार्यान्वयन गर्न परम्परागत लगानीका अतिरिक्त वैकल्पिक वित्त परिचालन आवश्यक रहेको भन्दै सरकारले उक्त विधेयक ल्याएको हो।