काठमाडौं, साउन २७ । एनएमबी बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै बैंकको खुद ब्याज आम्दानी ११ प्रतिशत बढेर ८ अर्ब २ करोड रुपैयाँ पुगेको छ ।
सो बैंकले जनाएअनुसार निष्क्रिय कर्जा अंश ३.७२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ३.४० प्रतिशतभन्दा बढी हो । एनएमबी बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो तथ्य देखाएको हो ।
सार्वजनिक वित्तीय विवरणअनुसार बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा २ अर्ब २४ करोड रुपैयाँ थियो । खुद ब्याज आम्दानी ११ प्रतिशत बढ्नु र लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) घट्नुले नाफामा योगदान पुगेको छ ।
यस्तै खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षमा ७ अर्ब २१ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ८ अर्ब २ करोड रुपैयाँ छ । त्यस्तै इम्पेरिमेन्ट चार्ज अघिल्लो आर्थिक वर्षमा २ अर्ब ३ करोड रुपैयाँ रहेकोमा गत आवमा ९५ करोड रुपैयाँ छ ।
नाफामा उल्लेख्य वृद्धि देखिएको बैंकको वितरणयोग्य नाफा १ अर्ब ९० करोड रुपैयाँ छ । प्रतिशेयर वितरणयोग्य नाफा १०.४१ रुपैयाँ हो । यस्तै सो बैंकको प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ रहेको छ ।













प्रतिक्रिया दिनुहोस्