काठमाडौं, साउन २८ । प्रभू बैंकले गत आर्थिक वर्षमा नाफामा अभूतपूर्व वृद्धि गरेको छ। बुधवार सार्वजनिक गरिएको २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ५ अर्ब ४४ करोड २६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९६५.४१ प्रतिशत अर्थात् १०.६५ गुणा बढी हो।
नाफा बढेपनि, बैंकको खुद ब्याज आम्दानी भने ३९.४७ प्रतिशत घटेर ७ अर्ब १९ करोड ७८ लाख रुपैयाँमा सीमित भएको छ। तर, सञ्चालन नाफा करिब दोब्बर वृद्धि भई ६ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सो रकम ३ अर्ब १५ करोड रुपैयाँ थियो।
वितरणयोग्य नाफा १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ पुगेसँगै, बैंकले यस वर्ष सेयरधनीलाई ४.४४ प्रतिशत लाभांश दिन सक्ने सम्भावना देखिएको छ। अघिल्लो वर्ष यो नाफा ऋणात्मक थियो।
प्रतिसेयर आम्दानी (EPS) २.१७ रुपैयाँबाट बढेर २३.१२ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ कायम भएको छ। हाल बैंकको खराब कर्जा अनुपात ४.९६ प्रतिशत छ।
निक्षेप संकलन १२.१९ प्रतिशत बढेर ३ खर्ब ४२ अर्ब रुपैयाँ नाघेको छ भने कर्जा प्रवाह ४.२२ प्रतिशत बढेर २ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ। बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड रुपैयाँ र जगेडा कोषमा १४ अर्ब ५९ करोड रुपैयाँ रहेको छ।













प्रतिक्रिया दिनुहोस्