जनता टाइम्स

२८ श्रावण २०८२, बुधबार १९:५०

विकासलाई सहज बनाउन नीतिगत संरचनामा सुधार ल्याउनुपर्छ : सञ्चारमन्त्री गुरुङ


काठमाडाैं, साउन २८ ।  सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जटिल नीतिगत संरचनाहरुले विकासमा बाधा पुर्याएको बताउनुभयो ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आज मन्त्रालयको २०८१/८२ को चौँथो त्रैमासिक/वार्षिक प्रगति समिक्षा तथा मन्त्रालयस्तरी विकास समस्या समाधान समिति(एमडिएसी) बैठक कार्यक्रमको संबोधन गर्दै मन्त्री गुरुङले पुरा नीति, नियम र ऐन कानुन सुधार गरेर विकासतर्फ सहज वातावरण सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो ।

साथै, उहाँले संस्थागत सुधारका लागि कर्मचारी, प्रशासन संयन्त्र र कार्यशैलीमा सुधार ल्याउनु अर्को महत्वपुर्ण पक्ष रहेको सुनाउनुभयो ।

विगतको कार्यशैलीबाट पाठ सिक्दै आगामी कार्य सम्पादनमा अपेक्षाकृत प्रगति गर्ने पनि उहाँले बैठकमा सुझाव दिनुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य प्रकाश श्रेष्ठले वजेट आउने क्रममा रहेका हाल जे जति बजेट छ, त्यसैको भरपुर सदुपयोग गरेर कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो । धेरै जसो बैठकमा उठेका समस्याहरु मन्त्रालयले नै समाधान गर्न सक्ने भएकाले मन्त्रालय तर्फ ध्यानकेन्द्रीत गराउनुभएको थियो । हुलाकले धेरै राम्रो प्रगति गरेको भन्दै प्रशंसा गर्नुभयो ।

सञ्चार सचिव राधिका अर्यालले मन्त्रालयले केहि माइलस्टोनहरु सुरु नै नसकेपनि केहि महत्वपुर्ण नीतिगत कार्य सफल हुनु सकारात्मक रहेको बताउनुभयो । हाल मन्त्रालयले ऐन, संशोधन, नीतिगत सुधार गर्न लागेको सुनाउदै यसले आगामी कार्यदिशामा काम गर्न सहजता प्रदान गर्ने धारा राख्नुभयो ।

बैठकमा मन्त्रालयका सह-सचिव कोशहरी निरौलाले मन्त्रालयको कार्यप्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार सीमित स्रोत र साधनका कारण माइलस्टोन पुरा गर्न चुनौती रहेको छ ।

यद्यपी आगामी दिनमा सुधार गर्दै कार्य योजना बनाउन मन्त्रालयले जोड दिएको उहाँले बताउनुभयो । कार्यक्रममा मन्त्राय मातहतका विभिन्न निकाय प्रमुख र विभागीय प्रमुखहरुको उपस्थीति थियो ।