जनता टाइम्स

२९ श्रावण २०८२, बिहीबार १५:४२

सरकारी स्वामित्वका तीन बैङ्कका नाफा ११ अर्ब ४१ करोड, कृषि विकास बैङ्कको सबैभन्दा बढी नाफा


काठमाडौं, साउन २९ । सरकारको स्वामित्व रहेका तीन बैङ्कले वित्तीय विवरण सार्वजनिक गरेका छन् । नेपाल बैङ्क लिमिटेड, राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड र कृषि विकास बैङ्क लिमिटेडले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशन गरेका हुन् ।

तीनवटै बैङ्कले प्रकाशन गरेको वित्तीय विवरणअनुसार यी तीन बैङ्कहरूको नाफा ११ अर्ब नाघेको छ । यी बैङ्कहरूले गत आर्थिक वर्षमा ११ अर्ब ४१ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आवमा सबैभन्दा बढी नाफा कमाउने सरकारी स्वामित्वको बैङ्क कृषि विकास बैङ्क रहेको छ । सो बैङ्कको नाफा ४८.८८ प्रतिशतले बढेको छ ।

प्रमुख कार्यकारी अधिकृत (सिइओ) गाेबिन्द गुरुङको विशेष योजना र कामको परिणाम यो नाफामा देखिएको हो । सो बैङ्कले गत आर्थिक वर्ष २०८१–८२ को चौथो त्रैमाससम्म ३ अर्ब ८२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा बैङ्कले २ अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको थियो ।

कृषि विकास बैङ्कको वितरणयोग्य मुनाफा २ अर्ब ५५ करोड २० लाख पुगेको छ भने बैङ्कको लाभांश क्षमता १८.४२ प्रतिशत रहेको छ । गत आवमा बैङ्कले खुद ब्याज आम्दानी ९ अर्ब ८२ करोड १४ लाख गर्दा सञ्चालन नाफा ५ अर्ब ८४ करोड पुगेको छ । यस्तै बैङ्कको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ६३ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ २४१ रुपैयाँ ४ पैसा छ ।

सो बैङ्कको चुक्ता पुँजी १३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १९ अर्ब ८६ करोड रहेको छ । गत आवमा बैङ्कले २ खर्ब ९३ अर्ब निक्षेप सङ्कलन गर्दा २ खर्ब १३ अर्ब कर्जा लगानी गरेको छ । बैङ्कको खराब कर्जा ३.२६ प्रतिशत छ ।

यसै गरी राष्ट्रिय वाणिज्य बैङ्कले गत आर्थिक वर्षमा ३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको तुलनामा ४९.५३ प्रतिशत बढी हो । त्यसबेला सो बैङ्कले २ अर्ब ५५ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैङ्कले सार्वजनिक गरेको गत आवको वित्तीय विवरण अनुसार बैङ्कको खुद ब्याज आम्दानी १० अर्ब ८ करोड २४ लाख रुपैयाँ गर्दा खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब २५ करोड ५२ लाख छ । बैङ्कको कुल सञ्चालन आम्दानी १२ अर्ब ८४ करोड ३७ लाख रहेको छ भने सञ्चालन नाफा ५ अर्ब ३८ करोड २५ लाख छ ।

बैङ्कको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । बैङ्कको यस्तो आम्दानी २४.४१ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १६.३२ रुपैयाँ प्रतिशेयर आम्दानी थियो । गत आवमा बैङ्कको वितरणयोग्य नाफा ३० करोड ३४ लाख रुपैयाँ छ । बैङ्कको लाभांश क्षमता १.९४ प्रतिशत छ ।

चुक्ता पुँजी १५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ रहेको यस बैङ्कको जगेडा कोषमा ३७ अर्ब ४७ करोड ५४ लाख रुपैयाँ छ । गत आवमा बैङ्कले ५ खर्ब ४१ करोड ४६ लाख निक्षेप सङ्कलन गरेर २ खर्ब ९४ अर्ब १८ करोड ८४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैङ्कको खराब कर्जा ३.५९ प्रतिशत छ ।

यस्तै नेपाल बैङ्कको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्ब ७७ करोड ३० लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३२.६५ प्रतिशत बढी हो । त्यसबेला बैङ्कले २ अर्ब ८४ करोड ४२ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आवमा बैङ्कले खुद ब्याज आम्दानी १० अर्ब ८ करोड ७१ लाख रुपैयाँ गरेको छ । बैङ्कको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब १७ करोड ४९ लाख, सञ्चालन आम्दानी ११ अर्ब ९४ करोड ३९ लाख र सञ्चालन नाफा ५ अर्ब ४१ करोड लाख ८६ हजार रुपैयाँ रहेको छ ।

बैङ्कको वितरणयोग्य नाफा ४४ करोड ९० लाख रुपैयाँ ऋणात्मक छ । बैङ्कको लाभांश क्षमता पनि ऋणात्मक रहेको छ । बैङ्कको प्रति शेयर आम्दानी २५.६८ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ २५९.८१ रुपैयाँ छ । चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ रहेको यस बैङ्कको जगेडा कोषमा २३ अर्ब ९३ करोड २० लाख रुपैयाँ रहेको छ ।

गत आवमा बैङ्कले ३ खर्ब ३२ अर्ब २ करोड १० लाख रुपैयाँ निक्षेप सङ्कलन गरेर २ खर्ब २१ अर्ब ७० करोड ३४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैङ्कको खराब कर्जा ४.४७ प्रतिशत रहेको छ ।