जनता टाइम्स

२६ बैशाख २०७६, बिहीबार ०८:४४

उत्कृष्ठ पुनरागमनपछि टटनह्याम च्याम्पियन्स लिगको फाइनलमा


काठमाडौं, वैशाख २६

सेमिफाइनलको दोस्रो लेगमा आयाक्सलाई ३–२ ले हराउँदै इग्लिस क्लब टटनह्याम च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । आयाक्सको घरेलु मैदानमा पहिलो हाफ २–० ले पछि परेको अबस्था उल्टाउँदै टटनह्यामले शानदार जित हात पारेको हो । उपाधिका लागि उसले अब जुन १ मा अर्को इग्लिस क्लब लिभरपुलको सामना गर्नेछ ।

टटनह्यामका लागि लुकास मौराले ह्याट्रिक गरे । ५५ औं मिनेटमा पहिलो गोल गरेका मौराले ५९ र ईन्ज्युरी समयमा गोल गर्दै टोलीको जित निश्चित पारेका थिए । त्यसअघि पहिलो हाफमा डी लेट र हाकिम जियाचले गोल गर्दै आयाक्सलाई २–० को बलियो अबस्थामा पुर्याएका थिए । दोस्रो हाफमा उत्कृष्ट फुटबल खेलेको टटनह्यामले लगातार आक्रमण बुन्दै पाएका अबसरको सदुपयोग गरेको थियो ।

पहिलो लेगमा १–० को हार भोगेको टटनह्याम र अयाक्सको नतिजा समग्रमा ३–३ भएपनि टटनह्याम अवे गोलका आधारमा फाइनल प्रवेश गरेको हो । यसअघि भएको दोस्रो लेगमा बार्सिलोनालाई ४–० ले हराउँदै लिभरपुलले समग्रमा ४–३ को नतिजासँगै उपाधि यात्रा तय गरेको थियो ।