नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको गत आर्थिक वर्षको खुद नाफा ६४ प्रतिशत बढेर ६ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। बैंकको खुद ब्याज आम्दानी घटेर १४ अर्ब १२ करोड रुपैयाँ भए पनि नोक्सानी व्यवस्थापन रकम घटेसँगै नाफामा वृद्धि देखिएको हो। कुल कर्जामा निष्क्रिय कर्जा ४.९१ प्रतिशतबाट बढेर ५.८५ प्रतिशत पुगेको छ ।
काठमाडौं, साउन ३० । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय नाफा वृद्धि गरेको छ । बैंकले एकै वर्षमा ६ अर्ब ७५ करोड ६६ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको हो, जुन अघिल्लो वर्षको तुलनामा ६४.४३ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा ४ अर्ब १० करोड ८८ लाख रुपैयाँ थियो । यस वर्षको वित्तीय विवरणअनुसार बैंकको सञ्चालन नाफा पनि १० अर्ब १४ करोड रुपैयाँ नाघेको छ, जुन गत वर्षको तुलनामा ५८.६६ प्रतिशत वृद्धि हो ।
बैंकले गत वर्ष १४ अर्ब १२ करोड रुपैयाँभन्दा बढी ब्याज आम्दानी गरेको छ । यद्यपि, अघिल्लो वर्ष यो रकम १५ अर्ब ११ करोड रुपैयाँभन्दा माथि थियो । वितरणयोग्य नाफा पनि ऋणात्मक अवस्थाबाट सुधार हुँदै ४९ करोड १३ लाख रुपैयाँमा पुगेको छ, जसका आधारमा बैंकले यस वर्ष १.३३ प्रतिशत लाभांश वितरण गर्ने क्षमता बनाएको छ ।
व्यापार विस्तारमा आक्रामक देखिएको बैंकको निक्षेप १७ प्रतिशत र कर्जा लगानी १८ प्रतिशतले बढेको छ । गत असार मसान्तसम्म कुल निक्षेप ४ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ३ खर्ब २६ अर्ब रुपैयाँ नाघेको छ ।
हाल बैंकसँग ५.८५ प्रतिशत खराब कर्जा छ, जुन अघिल्लो वर्षको ४.९१ प्रतिशतभन्दा बढी हो । बैंकको प्रतिसेयर आम्दानी १९.८० रुपैयाँ र प्रतिसेयर नेटवर्थ २३१.०२ रुपैयाँ रहेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपैयाँ छ भने जगेडा कोषमा ३२ अर्ब ७४ करोड रुपैयाँ संचित भएको छ ।













प्रतिक्रिया दिनुहोस्