काठमाडौं, साउन ३१ । कुमारी बैंकले एकै आर्थिक वर्षमा २ अर्बभन्दा बढी नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा कुमारी बैंकले २ अर्ब ११ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले सो तथ्य बाहिर ल्याएको छ । कुमारी बैंकले अघिल्लो आर्थिक बर्ष २०८०/०८१ मा ४६ लाख ८ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । तर, बैंकको वितरणयोग्य नाफा भने २ अर्ब ७९ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।
चौथो त्रैमाससम्म बैंकको ब्याज आम्दानी ५.९५ प्रतिशतले बढेर ११ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । नाफासँग बैंकको प्रतिशेयर आम्दानी पनि २ पैसाबाट बढेर ८ रुपैयाँ ७ पैसा पुगेको छ ।
बैंकको खराब कर्जा ५.९६ प्रतिशतबाट बढेर ६.४२ प्रतिशत पुगेको छ । त्यसैगरी पीई रेसियो २७.२३ र प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ १९ पैसा रहेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज ६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।
बिवरणअनुसार बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७९ करोड ४० लाख रुपैयाँले ऋणात्मक रहेको छ । यस हिसाबले बैंकले लाभांश वितरण गर्ने सम्भावना न्यून रहेको छ ।
बैंकको सञ्चालन मुनाफा बढेर ६ अर्ब १३ करोड ४४ रुपैयाँमा पुगेको छ । बैंकको सञ्चालन मुनाफा पनि ५२९.८७ प्रतिशतले बढेको छ ।
त्यस्तै, चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङ २ अर्ब ७९ करोड ४० लाख रुपैयाँले ऋणात्मक रहेको छ भने रिजर्भमा १३ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ रहेको छ ।
अघिल्लो वर्ष रिटेन्ड अर्निङ ५ अर्ब ३६ करोड ७४ लाख रुपैयाँले ऋणात्मक रहँदा रिजर्भमा भने १३ अर्ब ९४ करोड ४७ लाख रुपैयाँ थियो । गत वर्षमा बैंकले ३ खर्ब ६४ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६० अर्ब ९४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।













प्रतिक्रिया दिनुहोस्