जनता टाइम्स

१ भाद्र २०८२, आईतवार ०१:५७

वाणिज्य बैंकहरूको लाभांश क्षमता ३८ प्रतिशतसम्म, एभरेष्ट बैंक सवैभन्दा माथि रहँदा अन्यको यस्तो छ अवस्था


काठमाडौं, भदाै १ । नेपालमा रहेका १९ वटै वाणिज्य बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन ।

सार्वजनिक विवरणका आधारमा बैंकको नाफादेखि सेयर लगानीकर्ताले आफूले पाउने लाभांशसम्मको अनुमानित तथ्यांक सार्वजनिक भएको छ । अपरिस्कृत वित्तीय विवरणका आधारमा यो वर्ष ४ वटा बैंक लाभांश दिन नसक्ने स्थितिमा रहेको देखिएको छ ।

नेपाल बैंक, कुमारी बैंक, एनआईसी एसिया बैंक र हिमालयन बैंक यो पटक पनि लाभांश दिन नसक्ने अवस्थामा छन् । नेपाल इन्भेस्टमेन्ट मेगाको लाभांश क्षमता धनात्मक मात्रै रहेको देखिएको छ ।

औसतमा सूचीकृत १९ वाणिज्य बैंकले दिन सक्ने लाभांश क्षमता ११ प्रतिशत रहेको छ । बिवरणअनुसार ११ बैंकले यो पटक दोहोरो अंकको लाभांश दिने क्षमता बनाएका छन् । कर्जा असुलीमा बैंकहरु सफल भएसँगै यो पटक लाभांश क्षमता बढेको छ ।  जसमा एभरेस्ट बैंकले सबैभन्दा धेरै ३८ प्रतिशत लाभांश दिने क्षमता बनाएको छ ।

कतिपय बैंकको नाफा उच्च देखिए पनि लाभांश क्षमता कमजोर रहेको छ । प्राप्त भइनसकेको आम्दानी पनि नाफामा देखिने तर वितरणयोग्य नहुने भएकाले नाफा उच्च भए पनि लाभांश क्षमता नहुने गरेको छ ।

आर्थिक वर्ष सकिएको तीन महिनाभित्र वाह्य लेखापरीक्षण गर्नुपर्ने व्यवस्था छ । वित्तीय विवरणको वाह्य लेखापरीक्षण गरिसकेपछि अपरिस्कृत अहिलेको नाफा, लाभांश क्षमता लगायत धेरै सूचक हेरफेर हुन सक्नेछन् । वास्तविक लेखापरीक्षण सकिएपछि बैंकका सञ्चालक समितिले औपचारिक बैठकमार्फत सेयरधनीलाई क्षमताका आधारमा धमाधम लाभांश घोषणा गर्नेछन् ।

घोषित लाभांश नगद वा बोनस सेयरका रुपमा हुन सक्नेछ । वाणिज्य बैंकहरुले पुस मसान्तभित्र साधारणसभा गरी घोषित लाभांश पारित गर्दछन् । आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा गरिसक्नुपर्ने व्यवस्था छ ।