जनता टाइम्स

२६ बैशाख २०७६, बिहीबार ०९:०२

जनप्रतिनिधिले नै भारतियलाई नागरिकताको सिफारिस दिने गरेको खुलासा


झापा । भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा मुछिएका जनप्रतिनिधि र कर्मचारी भागेपछि वडाको काम प्रभावित भएको छ। अदालतले पक्राउ पुर्जी जारी गरेसँगै कचनकवल–२ का वडाध्यक्ष मुखबहादुर भट्टराई, वडा सदस्य धनबहादुर गुरुङ र वडा सचिव हरिप्रसाद गौतम एकै दिन फरार भए। यसबाट दैनिक काम लिएर वडा कार्यालय पुग्ने सेवाग्राहीमा परेको छ।

वडा कार्यालयमा अध्यक्ष, सदस्य र सचिव नहुँदा सेवाग्राहीले सिफारिस, जन्मदर्ता, विवाहदर्ता, योजना सिफारिस, नागरिकता सिफारिसलगायत वडाबाट हुने काम लिन सास्ती भोग्नुपरेको वडासदस्य चन्द्रशंकर अधिकारीले बताए। ‘वडा कार्यालयबाट धेरै काम हुन्छ, त्यसैले नागरिकको चाप त हुन्छ नै, वडाध्यक्ष, सदस्य र सचिव सबै भूमिगत भए। काममा समस्या छ,’ अधिकारीले भने।

वडा कार्यालयमा हाल आफूलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिए पनि आफूले वडा कार्यालयबाट हुने कुराको धेरै अध्ययन गर्न बाँकी रहेको र वडा सचिवसमेत कार्यालयमा नहुँदा समस्या पर्ने गरेको उनले बताए। नजिकै रहेको ३ नम्बर वडाका सचिव लक्ष्मण तामाङलाई २ नम्बर वडाको पनि काम गर्ने जिम्मेवारी दिइएको छ।

कचनकवल गाउँपालिकाले सोमबारदेखि तामाङलाई दुईवटै वडाको जिम्मेवारी दिएपछि केही घन्टा मात्र २ नम्बर वडामा जाने र बाँकी समय ३ मै बस्न थालेका छन्। सेवाग्राही फाइल बोकेर अर्को वडा दौडनुपर्ने बाध्यता रहेको महिला सदस्य मनमाया चौहानले बताइन्। ‘१÷२ घन्टा बस्नुहुन्छ, बाँकी समय ३ नम्बरमै रहने हुँदा सेवाग्राही यता र उता दौडनुपर्ने बाध्यता छ,’ उनले भनिन्। वडामा एकजना कार्यालय सहयोगी मीना अधिकारी र कम्प्युटर अपरेटर रेसम तामाङ छन्।

जिम्मेवारीको पत्र दिएरै फरार

भारतको आसाम राज्यको मणिपुर कानकोपी जिल्लाका ३५ वर्षीय भूपाल गुरुङलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा मुछिएका वडाध्यक्ष मुखबहादुर भट्टराई वडा सदस्यलाई कार्यवाहकको पत्र थमाएर फरार भएको पाइएको छ। वडाध्यक्ष भट्टराईले वडासदस्य चन्द्रशंकर अधिकारीलाई कार्यवाहकको जिम्मेवारी दिएका छन्।

वैशाख १९ गतेबाट आफू कामको सिलसिलामा काठमाडांै जानुपरेको भट्टराईको पत्रमा उल्लेख छ। ‘नागरिकता काण्डमा मुछिएको सबैलाई थाहा थियो नै, औपचारिकताका लागि होला मलाई कार्यवाहकको जिम्मेवारी दिएका छन्। ढोकै बन्द त गर्ने कुरा भएन,’ अधिकारीले भने।

जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थाहा पाएपछि सबै जना फरार भएको उनले बताए। ‘वडाध्यक्ष, सचिव, सदस्यसहित गाउँका केही स्थानीय फरार छन्। अहिले वडाध्यक्षको दुईवटै फोन अफ छ, कहिलेसम्म यो जिम्मेवारी समाल्ने थाहा छैन,’ उनले भने।

प्रहरी ढिलाइले भाग्ने मौका

भूपाल गुरुङ कचनकवल गाउँपालिका २ का बमबहादुर गुरुङलाई सबै कागजपत्र मिलाएर बाबु बनाउँदै नेपाली नागरिकता लिन जिल्ला प्रशासन कार्यालय झापा पुगेकै समयमा वैशाख १० गते पक्राउ परे। पक्राउ परेकै दिन उनको जन्मदर्ता, नागरिकता सिफारिसलगायतका नागरिकता बनाउन आवश्यक कागजातबाट सो प्रक्रियामा कोको संलग्न छन् सबै खुलेको थियो।

प्रहरीले दुवैजनालाई पक्राउ गरेको सात दिनपछि वैशाख १७ गते वडाध्यक्ष, सदस्य, सचिवसहित नौ जनाका नाममा बिहान १० बजे पक्राउ पुर्जी जारी गरेको थियो। तर पक्राउ पुर्जी जारी भएको भोलिपल्ट अर्थात् वैशाख १८ गतेसम्म वडाध्यक्ष भट्टराईले वडा कार्यालयमै बसेर काम गरे पनि प्रहरीले पक्राउ गरेन। कारण जिल्ला प्रहरी कार्यालय झापा पुगेको अदालतको पक्राउ पुर्जी इलाका प्रहरी कार्यालय बनियानीलाई १८ गते साँझ ६ बजे मात्र प्राप्त भयो। अदालतले पक्राउ पुर्जी जारी गरेको भोलिपल्ट साँझ मात्र वडा कार्यालय र वडाध्यक्ष रहेको इलाकामा पुग्दा प्रक्रियामा संलग्नलाई भाग्ने समय मिलेको देखिन्छ।

इलाका प्रहरी कार्यालय बनियानीका प्रहरी नायब निरीक्षक उदयशमशेर राणाले पक्राउ पुर्जीबिना पक्राउ गर्ने अधिकार प्रहरीलाई नभएकाले ढिला भएको स्वीकार गरे। उनले वडाध्यक्षसहित नौ जनालाई पक्राउ गर्न प्रहरी परिचालन गरिसकेको बताएका छन्। ‘मंगलबार पनि वडाध्यक्ष भट्टराईसँग फोन सम्पर्क भएको थियो। वडाध्यक्षज्यूले आफू इलाममा रहेको र केही दिनमा झापा आउने बताउनुभयो,’ राणाले भने।

मुचुल्काको सहारा लिदाँ पनि फसे : सचिव

बमबहादुर गुरुङ ३५ वर्षीय भूपाल गुरुङ सानैमा बाहिर गएकाले जन्मदर्ता गर्न ढिला भएको भन्दै वडा कार्यालय पुगेका थिए। ठूलो भएको छोराको नागरिकता बनाउन जन्मदर्ता चाहिने भएकाले बनाइदिन भन्दै वडा कार्यालय पुगेका गुरुङलाई वडा सचिव हरि गौतमले शंका लागेपछि स्थानीय जनप्रतिनिधि र स्थानीय बासिन्दा राखेर मुचुल्का बनाई ल्याउन भनेका थिए। स्थानीय पाँच जना र वडासदस्य धनबहादुर गुरुङले उनकै छोरा हो भन्दै मुचुल्कासहित कागजात पठाएपछि आफूले जन्मदर्ता गराएको सचिव हरि गौतमले टेलिफोनमा बताए।

‘यसअघि पनि शंका लागेका धेरैलाई मुचुल्का उठाएर आउनु भन्दै पठाएको थिए। शंका लागे म मुचुल्काकै सहयोगमा काम गर्थें। स्थानीय पाँच जना र स्वयं वडासदस्यले पनि गुरुङकै छोरा भनेर मुचुल्कामा सही गरेर आएपछि मैले जन्मदर्ता गराएर सिफारिस दिएको हुँ, रकम लेनदेन र अन्य मेरो केही मिलेमतो छैन, त्यसो गर्दा पनि म फसें,’ गौतमले भने। (अन्नपूर्ण पोष्टबाट)