जनता टाइम्स

१ मंसिर २०७६, आईतवार १६:०७

रामेछाप लिखु गाउँपालिका उपाध्यक्ष साढे ६ लाख धरौटीमा रिहा, वडाध्यक्षसहित अन्य फरार सूचीमा


काठमाडौं, मंसिर १

रामेछापको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई धम्की दिँदै मोटो रकम असुल्न खोज्ने कार्यमा संलग्न रहेको आरोप लागेको सोही गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक दीपशिखा न्यौपाने दाहाल धरौटीमा रिहा हुनुभएको छ । अध्यक्ष खड्कालाई फिरौती माग्दै नदिए अपरहण र ज्यान मार्ने धम्की दिन कार्यमा संलग्न लोप्चन लामा भनिने मिलन तामाङ र अमृत तामाङलाई गत साउन २४ गते महानगरीय प्रहरी अपराध महाशाखाले गोली हानेर पक्राउ गरेको थियो ।

पक्राउ परेका ती दुईजनाको बयानबाट सोही गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा न्यौपाने दाहाल, सोही गाउँपालिकाको ७ नम्बरका वडाध्यक्ष सुवास बोहरा र तत्कालीन माओवादी हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रामेछाप नेता सुदिप भनिने धुव्र कार्कीको संलग्नता रहेको खुलेको थियो । उनीहरुको समेत संलग्नता देखिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले तीनै जना विरुद्ध पक्राउ पूर्जी समेत जारी गरेको थियो । तर उनीहरु पक्राउ भने परेका थिएनन् ।

पक्राउ पूर्जी जारी भएपछि महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी कृष्ण चन्दले पक्राउका लागि रामेछाप प्रहरीलाई निर्देशन दिएको बताउनुभएको थियो । उहाँहरु पक्राउ नपरेपछि परिसरले अनुसन्धान सकेर सरकारी वकिलकोमा फाइल बुझाएको थियो । सरकारी वकिल कार्यालयले फिरौती र ज्यान मार्ने धम्कीमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । त्यसपछि गत बुधबार अदालतमा उपाध्यक्ष दाहाल अदालतमा उपस्थित हुनुभएको थियो ।

उहाँलाई ६ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो । अदालतले उहाँलाई तारेखमा छाडेको हो । त्यसैदिन धरौटी तिरेर उहाँ रिहा भएको स्रोतले जानकारी दिएको छ । सोही घटना अभियुक्त वडाध्यक्ष बोहरा र नेकपा नेता कार्की भने अझै फरार सूचिमा छन् । उनीहरुविरुद्ध पनि फिरौती र ज्यान मार्ने धम्कीमा अदालतमा मुद्दा दायर भएको छ । उहाँहरु भने अहिलेसम्म अदालतमा उपस्थित नभएको अदालत स्रोतले जनाएको छ।

यसअघि प्रहरीले साउन २४ गते दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको थियो । अपराध महाशाखाको टोलीले स्वयम्भुको विजेश्वरीबाट उनीहरुलाई पक्राउ गरेको थियो। एक घरमा लुकेर बसेका उनीहरुलाई पक्राउ गर्न खोज्दा भागेका थिए। त्यसक्रममा प्रहरीले गोली चलाउँदा लोप्चन लामा भनिने मिलन तामाङको घुँडामा दुई वटा गोलीसमेत लागेको थियो। सो क्रममा उनीसँगै रहेका अमृत तामाङ पनि पक्राउ परेका थिए।

उनीहरुले एक महिनादेखि रामेछापको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई फोनबाट धम्की दिँदै २ करोड माग्दै आएका थिए। उक्त योजना उपाध्यक्ष, वडाध्यक्ष्य र नेकपा नेता कार्कीकै योजनामा भएको बताउनुभएको थियो । काठमाडौंको पेप्सीकोलामा घर भएका खड्का केही समयदेखि काठमाडौं नै बस्दै आएका थिए। ती व्यक्तिहरुले २ करोड रुपैयाँ नदिए छोराछोरी र परिवारकै अपहरण गरी हत्या गर्नेसम्मको धम्की दिने गरेका थिए । खड्काको एक छोरी र एक छोरा छन् ।

घर नजिकै आएर रेकी गर्दै उनीहरुले खड्का ‘तँ कस्तो लुगा लगाएर कहाँ जाँदैछस् भन्ने सबै थाहा छ भन्दै’ फोनमार्फत धम्की दिने गरेका थिए । ‘गोली खर्च गर्नु नपरोस्’ भन्दै एक महिनादेखि धम्की खेप्दै आएका अध्यक्ष खड्काले त्यसपछि भने प्रहरीमा उजुरी दिनुभएको थियो । उनीहरुले लिखु हाइड्रोबाट २० लाख र रोड कन्सट्रक्सनबाट ३० लाख रुपैयाँसमेत मागेको प्रहरीकहाँ मौखिक उजुरी परेको थियो ।

आफूमाथि लागेको आरोपको खन्डन गर्दै वडाध्यक्ष बोहोराले यसअघि एक विज्ञप्ति समेत निकालेका थिए । उपाध्यक्ष दाहाल र वडाध्यक्ष बोहराले गाउँपालिका अध्यक्ष खड्काले मागे जति रकम विनियोजन गर्न नदिइएको झोकमा झूटो मुद्दा दायर गरेको जिकिर गर्दै आएका छन् ।

पक्राउ परेका उक्त दुई जनाको बयानबाट गाउँपालिका उपाध्यक्ष न्यौपाने दाहाल, सोही गाउँपालिका–७ का वडाध्यक्ष सुवास बोहरा र तत्कालीन माओवादी हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रामेछाप नेता सुदिप भनिने धुव्र कार्कीको संलग्नता रहेको खुलेको थियो । गाउँपालिका उपाध्यक्ष न्यौपाने गत बुधबार अदालतमा उपस्थित भएको र उहाँलाई ६ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।

विवादित पक्ष सबै एकै दल नेकपाका हुन् । नेकपाले उपाध्यक्षलगायत जनप्रतिनिधिलाई फौजदारी मुद्दा दायर गरेको भन्दै अध्यक्ष खड्कालाई पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरेको छ । प्रदेश र जिल्ला समितिले खड्कालाई निलम्बन गरेका हुन् । खड्काले पार्टीबाट निलम्बनमा परे पनि न्यायिक लडाइँ जारी राख्ने बताउँदै आएका छन् । विवादपछि गाउँसभामा चालु आर्थिक वर्षका लागि बजेट पारित हुन सकेको छैन । विवादकै कारण गत आर्थिक वर्षको लेखा परीक्षणसमेत हुन सकेको छैन ।