काठमाडौं, भदौ ८ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीले भारत र चीनबीच नेपाली भूमि लिपुलेक हुँदै ब्यापार गर्ने सहमतिप्रति कडा आपत्तिसहित खेद ब्यक्त गरेको छ ।
ओएनएफका अध्यक्ष सञ्जय थापा र सचिव हेम शेर्पाले आइतवार बिज्ञप्ति जारी गर्दै नेपाल सरकारसँग कुनै पनि छलफल वा सहमति बिना दुई छिमेकी मुलुकले आपसमा सम्झौता गर्नु नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनतामाथि गम्भीर प्रश्न खडा गर्ने खालको कदम आपत्तिजनक कदम भन्नुभएको छ ।
‘हालै चीनका विदेश मन्त्रीको भारत भ्रमणको क्रममा भारत–चीनबीच व्यापारिक प्रयोजनका लागि लिपुलेक मार्ग प्रयोग गर्ने सम्बन्धी सम्झौता भएको समाचार सार्वजनिक भएको समाचारप्रति प्रवासी नेपाली मञ्चको गम्भीर ध्यानाकर्षण भएको छ,’ बिज्ञप्तिमा भनिएको छ, ‘लिपुलेक क्षेत्र नेपालको अविभाज्य भूभाग हो । यस विषयमा नेपाल सरकारसँग कुनै पनि छलफल वा सहमतिबिना दुई छिमेकी मुलुकले आपसमा सम्झौता गर्नु नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनतामाथि गम्भीर प्रश्न खडा गर्ने खालको कदम हो ।’
बिज्ञप्तिमा यस घटनाप्रति सवै नेपालीको ध्यानाकर्षण गराउनुका साथै कडा कदम चाल्न सरकारलाई आग्रह गरिएको छ । बिज्ञप्तिमा अगाडि भनिएको छ, ‘प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटी यसप्रति गहिरो खेद प्रकट गर्दै नेपाल सरकारलाई औपचारिक कूटनीतिक नोटमार्फत आपत्ति प्रकट गर्न, राष्ट्रिय हितमा दृढतापूर्वक उभिन र नेपालको भौगोलिक अखण्डता र सार्वभौमिकताको रक्षा गर्न आवश्यक सबै पहल गर्न आग्रह गर्दछ ।’
यस्तै बिज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीको निकट भविष्यमै हुन लागेको चीन र भारत भ्रमणमा दुवै मुलुकका शीर्ष नेतृत्वसँग यो संवेदनशील विषयलाई उच्च प्राथमिकताका साथ स्पष्ट रूपमा उठाउनुपर्ने आवश्यकता औंल्याइएको छ । प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपालको स्वाधीनता र राष्ट्रिय हितलाई मजबुत बनाउने विश्वास पनि गरिएको छ ।
‘नेपालको माटो, भूभाग र स्वाभिमान हाम्रो अस्तित्वसँग गाँसिएको विषय हो । यसलाई कुनै हालतमा सम्झौता वा नजरअन्दाज गर्न सकिन्न । विश्वभर रहेका प्रवासी नेपालीहरूले सधैं आफ्नो मातृभूमिको सार्वभौमिकता र स्वाधीनताको पक्षमा दृढ आवाज उठाउँदै आएका छन् । अतः यस ऐतिहासिक जिम्मेवारीलाई निरन्तरता दिँदै हामी यस विषयमा नेपाल सरकारले चालेका कदमहरूलाई पूर्ण समर्थन र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं,’ अध्यक्ष थापा र सचिव शेर्पाले जारी गर्नुभएको बिज्ञप्तिमा भनिएको छ ।














प्रतिक्रिया दिनुहोस्