जनता टाइम्स

९ भाद्र २०८२, सोमबार ००:००

तथ्यले देखाएको आर्थिक क्षेत्रमा ओली सरकारको एक वर्षे सार : लयमा फर्कदै अर्थतन्त्र, अधिकांश सूचकमा देखियो सुधार


काठमाडौं, भदौ ९ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको एक बर्षमा अर्थतन्त्रका अधिकांश सूचकमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक तथ्यांकले यस्तो तथ्य उजागर गरेको हो ।

राष्ट्र बैंकले आइतबार गत आवको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको हो । उक्त तथ्यांक अनुसार नेपालका अर्थतन्त्र लयमा फर्किदै गरेको र अधिकांश सूचकमा देखियो सुधार देखिएको छ । प्रतिवेदनमा मुलुकका आर्थिक तथा वित्तीय स्थितिमा अधिकांश सूचकहरूमा सकारात्मक सुधार देखिएको छ ।

८१.८ प्रतिशतले वृद्धि भयो निर्यात

आर्थिक वर्ष २०८१/८२ मा नेपालबाट हुने वस्तु तथा सेवाको निर्यातमा ऐतिहासिक रेकर्ड बनाएको छ । राष्ट्र बैंकका अनुसार गत आवमा कुल वस्तु निर्यात ८१.८ प्रतिशतले वृद्धि भई २ खर्ब ७७ अर्ब ३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यातमा ३.० प्रतिशतले कमी आएको थियो ।

प्रतिवेदनअनुसार गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ११७.८ प्रतिशत, १.६ प्रतिशत र ६.७ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, जुटका सामान, चिया, जुत्ता तथा चप्पल लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक सिट, जुस, अदुवा, तयारी पोसाक लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा कुल वस्तु आयात १३.३ प्रतिशतले वृद्धि भई १८ खर्ब ४ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयातमा १.२ प्रतिशतले कमी आएको थियो ।आर्थिक वर्ष २०८१/८२ मा कुल वस्तु व्यापार घाटा ६.० प्रतिशतले वृद्धि भई १५ खर्ब २७ अर्ब ९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटामा १.० प्रतिशतले कमी आएको थियो ।

२६ खर्ब नाघ्यो विदेशी विनिमयको सञ्चिति, १८ महिनाको वस्तु आयात धान्ने

नेपालको कुल विदेशी विनियमको सञ्चिति २६ खर्ब नाघेको छ । देशको कुल विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले बढेर गत आर्थिक वर्षको अन्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड पुगेको हो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, २०८१ असार मसान्तमा यस्तो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको थियो । अघिल्लो आवको तुलनामा विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले बढेर २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २७.७ प्रतिशतले बढेर १९ अर्ब ५० करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक)सँग २ खर्ब ६३ अर्ब ४ करोड रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८.२ महिनाको वस्तु आयात र १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

१९.२ प्रतिशतले बढ्यो रेमिट्यान्स

राष्ट्र बैंकको प्रतिवेदनअनुसार एक वर्षमै १७ खर्ब भन्दा बढी विप्रेषण (रेमिट्यान्स) नेपाल भित्रिएको छ । आर्थिक वर्ष २०८१/८२ मा रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई १७ खर्ब २३ अर्ब २७ करोड पुगेको भित्रिएको हो । राष्ट्र बैंकका अनुसार गएको असार महिनामा मात्रै रेमिट्यान्स आप्रवाह १ खर्ब ८९ अर्ब ११ करोड भएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह १ खर्ब १७ अर्ब ७८ करोड रहेको थियो ।

गत वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो । सो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १८ खर्ब ७४ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय १५ खर्ब ७१ अर्ब २४ करोड रहेको थियो ।

गत वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या ५ लाख ५ हजार ९५७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ३३ हजार ३०९ रहेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या क्रमशः ४ लाख ६० हजार १०२ र २ लाख ८१ हजार १९५ रहेको थियो ।

आन्तरिक कर्जा ६.२ प्रतिशतले वृद्धि

आर्थिक वर्ष २०८१/८२ मा मौद्रिक क्षेत्रको कुल आन्तरिक कर्जा ६.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त कर्जा ६.१ प्रतिशतले बढेको थियो । गत वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १२.६ प्रतिशत (रु.८११ अर्ब ४९ करोड) ले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप १३ प्रतिशत (रु.७४२ अर्ब ३७ करोड) ले बढेको थियो ।

गत वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशत (रु.४२३ अर्ब ७३ करोड) ले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा ५.८ प्रतिशत (रु.२७६ अर्ब ९४ करोड) ले बढेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.२ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाहरूको औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ७ं.९ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५.५ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.४ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १२.८ प्रतिशतले बढेको छ । कृषि क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले घटेको छ ।

गत आवमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित आवधिक कर्जा ७.१ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.९ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ५६.२ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ५१.१ प्रतिशतले, हायर पर्चेज कर्जा ३.७ प्रतिशतले र डिमान्ड तथा चालु पुँजी कर्जा १३.२ प्रतिशतले बढेको छ । ओभरड्राफ्ट कर्जा १०.४ प्रतिशतले घटेको छ ।

धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब कायम

२०८१ असार मसान्तमा २२४०.४१ रहेको नेप्से सूचकांक २०८२ असार मसान्तमा २७९४.७९ कायम भएको छ । यस अवधिमा धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब ९९ करोड कायम भएको छ । २०८१ असार मसान्तमा बजार पुँजीकरण ३५ खर्ब ५३ अर्ब ६८ करोड रहेको थियो ।

गत आवमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २७२ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ८ अन्य समूहका रहेका छन् । २०८१ असारमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २७० रहेको थियो ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८२ असार मसान्तमा सूचीकृत ८ अर्ब ८२ करोड सेयरको चुक्ता मूल्य ८ खर्ब ६९ अर्ब ८६ करोड रहेको छ । आर्थिक वर्ष २०८१/८२ मा ४० अर्ब २१ करोड रुपैयाँ बराबरको साधारण सेयर, २४ अर्ब ४२ करोड बराबरको बोनस सेयर, १३ अर्ब २३ करोड बराबरको हकप्रद सेयर, १ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, ११ करोड २० लाख बराबरको एफपीओ र ३ अर्ब ९६ करोड बराबरको अन्य सेयर गरी कुल ८३ अर्ब १९ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

गत आवमा नेपाल धितोपत्र बोर्डले १५ अर्ब ४१ करोड बराबरको हकप्रद सेयर, १५ अर्ब २० करोड बराबरको म्युचुअल फण्ड, १० अर्ब ६२ करोड बराबरको डिबेन्चर र ३ अर्ब ९३ करोड बराबरको साधारण सेयर गरी कुल ४५ अर्ब १६ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको थियो ।

यसबाहेक आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति ४ खर्ब ४ अर्ब ४२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति ३ खर्ब ७९ अर्ब ३८ करोडले घाटामा रहेको थियो ।

आर्थिक वर्ष २०८१/८२ मा तीनै तहका सरकारको एकीकृत वित्त स्थिति भने १ खर्ब ३० अर्ब ७३ करोडले बचतमा रहेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारको कुल खर्च १५ खर्ब २३ अर्ब ११ करोड रहेको छ । यसमध्ये चालु खर्च ९ खर्ब ८० अर्ब ३८ करोड, पूँजीगत खर्च २ खर्ब २२ अर्ब ६८ करोड र वित्तीय व्यवस्था खर्च ३ खर्ब २० अर्ब ४ करोड रहेको छ ।

गत आवमा सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ११ खर्ब ७८ अर्ब ८२ करोड पुगेको छ । यसअन्तर्गत कर राजस्व १० खर्ब ४९ अर्ब ८८ करोड र गैरकर राजस्व १ खर्ब २८ अर्ब ९४ करोड परिचालन भएको छ ।

महंगी दर पनि घट्यो, कुन क्षेत्रमा कति ?

गत आर्थिक वर्षभरि उपभोक्ता मूल्य सूचकाङ्क (मुद्रास्फीति) अर्थात् महंगी औसत ४.०६ प्रतिशतमा झरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा मुद्रास्फीति ४.०६ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको गत असार मसान्तसम्म मुद्रास्फीति ४.०६ प्रतिशत रहको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म ५.४४ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०८१/८२ मा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप-समूहको मूल्यवृद्धि १०.७१ प्रतिशत, घ्यू तथा तेलको ८.७२ प्रतिशत, दाल तथा गेडागुडीको ७.९० प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ६.१३ प्रतिशत रहेको छ । त्यस्तै, मरमसला उप-समूहको मूल्य सूचकाङ्क २.६२ प्रतिशत र माछा तथा मासुको ०.३४ प्रतिशतले घटेको छ ।

गैर-खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरू उप–समूहको मूल्यवृद्धि ९.३९ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ६.०९ प्रतिशत, मदिराजन्य पेय पदार्थको ५.६५ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरूको ४.७८ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.३७ प्रतिशत रहेको छ ।

क्षेत्रगत उपभोक्ता मुद्रास्फीति

आर्थिक वर्ष २०८१/८२ मा काठमाडौं उपत्यकाको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.७७ प्रतिशत, तराईको ४.१४ प्रतिशत, पहाडको ३.८६ प्रतिशत र हिमालको ४.८९ प्रतिशत रहेको छ ।

खाद्य तथा पेय पदार्थ समूह

आर्थिक वर्ष २०८१/८२ मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.६९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति ६.४७ प्रतिशत रहेको थियो।

२०८२ असार महिनामा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.१९ प्रतिशतले ऋणात्मक रहेको छ । २०८१ असार महिनामा उक्त समूहको मुद्रास्फीति ४.०४ प्रतिशत रहेको थियो ।

गैर-खाद्य तथा सेवा समूह

गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.७१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति ४.६४ प्रतिशत रहेको थियो । तर, २०८२ असार महिनामा गैर–खाद्य तथा सेवा समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१२ प्रतिशत रहेको छ । २०८१ असार महिनामा उक्त समूहको मुद्रास्फीति ३.२६ प्रतिशत रहेको थियो ।