जनता टाइम्स

१७ भाद्र २०८३, बुधबार ०८:१९

पेट्रोलियम पदार्थको खरिद मूल्य बढ्यो, निगमले बिक्री मूल्य नबढाउने


काठमाडौं, भदौ १७ । इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले सर्वसाधारणका लागि इन्धनको बिक्री मूल्य नबढाउने निर्णय गरेको छ ।भोटेकोशी नदीमा आएको असाधारण बाढीका कारण उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिले साबिककै मूल्य कायम राख्ने निर्णय गरेको हो ।

इन्डियन आयल कर्पोरेसनबाट भदौ १५ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ३४ पैसा, डिजेलमा ४ रुपैयाँ ३३ पैसा, मट्टितेलमा १० रुपैयाँ १९ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ ९६ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ३५ रुपैयाँ ६२ पैसा मूल्य बढेर आएको थियो ।

तर, बाढीपहिरोका कारण नागरिकले भोग्नुपरेको असहज अवस्थालाई मध्यनजर गर्दै निगमले भदौ १७ गते बिहान १२ः०१ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ ।

पोखरा र भैरहवाका लागि भने अन्तर्राष्ट्रिय हवाई इन्धन ‘ब्रेकइभेन पोइन्ट’मा बिक्री गरिने निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि सर्वसाधारणको सुविधाका लागि बिक्री मूल्य नबढाउँदा निगमलाई आगामी १५ दिनमा करिब १ अर्ब २४ करोड ५७ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।