काठमाडौं, भदौ १५ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उपचार तथा स्वास्थ्य व्यवस्थापनका लागि बागमती प्रदेश सरकारले प्रभावित क्षेत्रमा आकस्मिक चिकित्सकीय टोली परिचालनदेखि निःशुल्क उपचारसम्मको व्यवस्था गरेको छ।
बाढी आएको लगत्तै बागमती प्रदेश सरकारको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रले आपत्कालीन स्वास्थ्य प्रतिकार्य सुरु गरेको थियाे। प्रभावित क्षेत्रमा प्रदेश स्वास्थ्य सचिव डा. सुमित्रा गौतमको संयोजकत्वमा आकस्मिक चिकित्सकीय टोली (EMT) परिचालन गरिएको छ। प्रदेशका प्रादेशिक अस्पताल, जनस्वास्थ्य कार्यालय तथा अन्य स्वास्थ्य संस्थालाई मिलाएर र्यापिड रेस्पोन्स टिम (RRT) र इमर्जेन्सी मेडिकल टिम (EMT) बनाइएकाे थियाे ।

रसुवा, नुवाकोट र धादिङमा घाइतेको उपचारका लागि विभिन्न अस्पताल तथा होल्डिङ सेन्टरमा चिकित्सकीय टोली परिचालन गरिएको छ। रसुवा अस्पतालमा राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंसँग समन्वय गरी थप चिकित्सकीय टोली पठाइएको छ भने धुलिखेल अस्पतालको टोलीसमेत रसुवामा उपचारमा खटिएको छ।
रसुवा अस्पतालमा बाढी प्रभावित ७७ जना उपचारका लागि पुगेका छन्। तीमध्ये २४ जनालाई थप उपचारका लागि रेफर गरिएको, ४९ जना डिस्चार्ज भएको र एक जनाको मृत्यु भएको छ। नुवाकोटको त्रिशूली अस्पतालमा १८ जना पुगेकामा एक जनालाई रेफर, १५ जना डिस्चार्ज र एक जना उपचाररत छन्। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोटमा ३८७ जना पुगेकामा एक जनालाई रेफर, ३६२ जना डिस्चार्ज र १४ जना उपचाररत रहेको विवरणमा उल्लेख छ।
बाढीका कारण रसुवाका स्याफ्रुबेँसी, टिमुरे, रसुवागढी र मैलुङका स्वास्थ्य संस्थाहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। धादिङका चरौँदी आधारभूत स्वास्थ्य सेवा केन्द्र र बैरेनी अस्पतालमा समेत आंशिक क्षति पुगेको छ।

नुवाकोटमा त्रिशूली अस्पताल र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा घाइतेको उपचार भइरहेको छ। पुल बगेर आवतजावतमा समस्या भएपछि आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा समेत उपचारको व्यवस्था मिलाइएको र विभिन्न होल्डिङ सेन्टरमा मेडिकल टोली परिचालन गरिएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ।
प्रदेश सरकारले प्रभावित क्षेत्रमा आवश्यक औषधि तथा स्वास्थ्य सामग्री हवाई र सडकमार्गबाट ढुवानी तथा वितरण गरिरहेको छ। औषधिको अभाव हुन नदिन र अनावश्यक वितरण रोक्न एकद्वार प्रणाली अपनाइएको जनाइएको छ।
त्यस्तै, बाढी प्रभावित तथा घाइते नागरिकका लागि प्रदेशअन्तर्गतका सबै प्रादेशिक अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको छ। नजिकको प्रादेशिक अस्पतालमा सम्पर्क गरी निःशुल्क उपचार सेवा लिन प्रदेश सरकारले आग्रह गरेको छ। घाइतेलाई सुरक्षित रूपमा अस्पतालसम्म पुर्याउन नागरिक, संघसंस्था र स्थानीय तहलाई समेत सहयोग गर्न अपिल गरिएको छ।

प्रदेश सरकारले मानसिक स्वास्थ्य सेवासमेत सञ्चालन गरिरहेको जनाएको छ। मनोचिकित्सक तथा मनोसामाजिक परामर्शदातामार्फत प्रभावित नागरिकलाई सेवा उपलब्ध गराइएको छ। साथै एम्बुलेन्स व्यवस्थापन, शव व्यवस्थापनका लागि आवश्यक सामग्री तथा आधारभूत र नसर्ने रोगका औषधि प्रभावित क्षेत्रमा निरन्तर पठाउने काम भइरहेको छ।
स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्र तथा सम्बन्धित जिल्लाका स्वास्थ्य निकायबीच निरन्तर समन्वय भइरहेको प्रदेश सरकारले जनाएको छ।
कुन अस्पतालबाट को–को खटिएका छन् ?

प्रदेश सरकारको प्रतिवेदनअनुसार भक्तपुर अस्पतालबाट दुईवटा चिकित्सकीय टोली परिचालन गरिएको छ। पहिलो टोलीमा जनरल सर्जन डा. विजय भट्ट, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. दिवाकर सुवेदी, मेडिकल अधिकृत डा. कविकान्त चौधरी, आईटी इन्जिनियर दिपेश खड्का, स्टाफ नर्स संगिता प्याकुरेल र हेल्थ असिस्टेन्ट अलिसा पोखरेल खटिनुभएको छ। उक्त टोलीले नुवाकोटको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा सेवा दिइरहेकाे छ ।
भक्तपुर अस्पतालकै दोस्रो टोलीमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. रीशन ग्वाचा, मुटुरोग विशेषज्ञ डा. विजयको शाह, मेडिकल अधिकृत डा. बिस्रईत रेग्मी, हेल्थ असिस्टेन्ट शोभाकान्त अधिकारी र एक जना सवारी चालक खटिनुभएको थियो। टोलीले नुवाकोटका विभिन्न होल्डिङ सेन्टरमा सेवा दिइरहेकाे छ ।
त्यस्तै, टोखा चण्डेश्वरी अस्पतालबाट डा. लक्ष्मण खड्का, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. सिबेश बर्मा, एनेस्थेसिया सहायक संगिता छत्कुली, स्टोरकिपर लीला बहादुर श्रेष्ठ, हेल्थ असिस्टेन्ट छिद्धो कुमारी राना र सवारी चालक उत्तरकुमार गुरुङको टोली परिचालन गरिएको छ। उक्त टोलीले नुवाकोटको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा सेवा दिएको दिएकाे छ ।

बज्रबाराही चापागाउँ अस्पतालबाट हाडजोर्नी विशेषज्ञ डा. किशन नेपाली, मेडिकल अधिकृत डा. आयुष जंग थापा, एनेस्थेसिया सहायक सूर्य बम, हेल्थ असिस्टेन्ट महेन्द्र थापा र स्टाफ नर्स सन्डिला महतको टोली नुवाकोटमा खटिएको छ। उक्त टोलीले जिल्ला समन्वय समितिको भवनमा सेवा दिएको छ ।
त्यसैगरी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, काठमाडौंबाट आयुर्वेद कन्सल्टेन्ट डा. रविन भुसाल, आयुर्वेद चिकित्सक डा. श्रीहरि न्यौपाने र स्टाफ नर्स लज्जा भट्टराईको टोली नुवाकोटको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा खटिएको छ ।
हेटौंडा अस्पतालबाट हाडजोर्नी विशेषज्ञ डा. विनोद गैरे, मेडिकल अधिकृत डा. अर्जुन झड्का, हेल्थ असिस्टेन्ट जयराम रायमाझी र सवारी चालक कृष्ण आलेमगरको टोली जिल्ला समन्वय समितिको भवन, नुवाकोटमा परिचालन गरिएको छ ।
रसुवामा ट्रमा सेन्टरदेखि धुलिखेल अस्पतालसम्मका टोली
रसुवामा घाइतेको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौंबाट समेत चिकित्सकीय टोली परिचालन गरिएको छ । टोलीमा डा. नीति श्रेष्ठ, डा. अभिनास कार्की, डा. प्रशन्न रेग्मी, डा. विप्लव शर्मा, नर्स साधना भट्टराई, नर्स सपोरा बी.के. तथा डा. सरोजलगायत रहनुभएको छ। टोलीले रसुवा अस्पतालमा सेवा प्रदान गरेको छ ।
धुलिखेल अस्पताल, काभ्रेबाट डा. शैलेशप्रसाद श्रेष्ठ, ट्रमा कोअर्डिनेटर श्रीजेस पराजुली, प्यारामेडिक्स श्रवण गौतम, सवारी चालक रामप्रसाद वाग्ले र प्यारामेडिक्स रामप्रसाद ढकालको टोली रसुवा अस्पतालमा खटिएको थियो। उक्त टोलीले स्याफ्रुबेँसीको साम्बेत विद्यालयमा समेत सेवा दिएको छ ।

त्यस्तै, नेपाल प्रहरी अस्पताल, महाराजगञ्जबाट प्रहरी नायब उपरीक्षक डा. नबिनकुमार चौधरी, डा. महादेव देउवासहित तीन जनाको टोली उत्तरगया, रसुवामा परिचालन गरिएको छ ।
सिन्धुली अस्पताल तथा जनस्वास्थ्य कार्यालय, सिन्धुलीबाट अर्थोपेडिक सर्जन डा. सुशान्तकुमार झड्का, जनरल सर्जन डा. दिपेन्द्र कटुवाल, मेडिकल अधिकृत डा. समन्तुर बुढाथोकी, हेल्थ असिस्टेन्ट सुदीप भुजेल र हेल्थ सर्भिस चालक विमलेश यादवको टोली नुवाकोटका विभिन्न होल्डिङ सेन्टरमा परिचालन गरिएको छ।
त्यसैगरी चौतारा अस्पतालबाट मेडिकल अधिकृत डा. विनोदकुमार मण्डल, नर्सिङ अधिकृत दिपिका झड्का र नर्सिङ अधिकृत मोनिका बाडेको टोली नुवाकोटको त्रिशूली पारीका विभिन्न होल्डिङ सेन्टरमा खटिएको छ।
मेथिनकोट अस्पताल, काभ्रेबाट डा. हिमाल खनाल, डा. आलोक मिश्र, स्टाफ नर्स रश्मिता पौडेल, जनस्वास्थ्य नर्स सन्तोषी शाही र हेल्थ सर्भिस चालक उत्तम दाहालको टोली नुवाकोटको त्रिशूली वारीका विभिन्न होल्डिङ सेन्टरमा परिचालन गरिएको छ।

बाढीका कारण रसुवाका टिमुरे, स्याफ्रुबेँसी, रसुवागढी र मैलुङका स्वास्थ्य संस्था पूर्ण रूपमा क्षतिग्रस्त भएकाले वैकल्पिक स्थानबाट स्वास्थ्य सेवा सञ्चालन गरिएको छ।
प्रदेश सरकारले प्रभावित क्षेत्रमा आवश्यक औषधि तथा स्वास्थ्य सामग्री हवाई र सडकमार्गबाट ढुवानी तथा वितरण गरिरहेको छ। औषधि अभाव हुन नदिन एकद्वार वितरण प्रणालीसमेत लागू गरिएको छ।
उद्धार तथा उपचारसँगै प्रभावित नागरिकको मानसिक स्वास्थ्यमा समेत ध्यान दिइएको छ। मनोचिकित्सक तथा मनोसामाजिक परामर्शदातामार्फत सेवा प्रदान भइरहेको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्