जनता टाइम्स

१० भाद्र २०८२, मंगलवार १९:४४

एमाले विधान महाधिवेशन : प्रतिनिधिलाई छैन बस्ने व्यवस्था, खाना पनि बिहानको मात्रै


काठमाडौं, भदौ १० । नेकपा एमालेले विधान महाधिवेशनका प्रतिनिधिलाई खाने र बस्ने व्यवस्था आफै गर्न सूचित गरेको छ ।

यही भदौ २० गतेदेखि २२ गतेसम्म गोदावरीस्थित सनराइज हलमा आयोजना हुन गालेको विधान महाधिवेशनमा खर्च कटौती गर्न यस्तो निर्णय लिइएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । एमालेको विधान महाधिवेशनमा २ हजार ३ सय ९२ प्रतिनिधि रहेका छन् । प्रतिनिधिलाई दिनको एकपटक खाना खुवाउने व्यवस्था भने गरिएको प्रचार प्रमुख गौतमले बताउनु भयो ।

न्यूनतम खर्चमा महाधिवेशन सम्पन्न गर्न एमालेले एक छाक मात्रै खाना खुवाउने र प्रतिनिधि आफैँले बस्ने प्रबन्ध गर्नुपर्ने व्यवस्था गरिएको गौतमले बताउनु भयो । अति आवश्यक परेमा सम्पर्क मञ्चले आफ्नो जिल्ला र प्रदेशका प्रतिनिधिलाई खाना र बस्ने व्यवस्था मिलाउने व्यवस्था गरिएको छ ।

‘कम खर्चमा विधान महाधिवेशन सम्पन्न गर्ने पक्षमा छौँ । यसैले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई बिहानको खाना मात्र खुवाउने र बस्ने व्यवस्था आफैँ गर्नुपर्ने निर्णय गरिएको छ,’ व्यवस्थापनको काममा रहनुभएका केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले भन्नुभयो । उहाँका अनुसार तीन दिनमा कहिलेकाहीँ बिहानका सेसन चल्दा खाजा खुवाउनेसम्मको व्यवस्था गर्ने गरी व्यवस्थापनको काम अघि बढाइएको छ ।

तीन दिनसम्म चल्ने महाधिवेशनको समग्र व्यवस्थापन केन्द्रीय कार्यालयले नै गर्दै छ । महाधिवेशन अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन र महासचिव शङ्कर पोखरेलको सांगठानिक प्रतिवेदनसहित केन्द्रीय आयोगहरुको प्रतिवेदन प्रस्तुत हुनेछ ।

विधान महाधिवेशन मुख्यतया नीतिसँग सम्बन्धित हुन्छ । पार्टीको आगामी कार्यदिशा, पार्टीको राजनीतिक–सैद्धान्तिक आधार, आर्थिक, सामाजिक, देशको परिस्थिति, अन्तर्राष्ट्रिय सम्बन्ध, प्रतिस्पर्धी दलहरूलाई हेर्ने दृष्टिकोणसहितमा नीति तय हुनेछन् । एमालेको पहिलो विधान महाधिवेशन २०७८ भदौ १५ देखि १७ गतेसम्म गोदावरीमै भएको थियो ।