जनता टाइम्स

११ भाद्र २०८२, बुधबार १७:०२

रामेछापको मन्थली बन्यो जिल्लाको पहिलो बालमैत्री स्थानीय तह, वाग्मती प्रदेशमा ११ औँ


 

रामेछाप, भदाै ११ । रामेछाप जिल्लाको सदरमुकाम मन्थली नगरपालिका जिल्लाकै पहिलो ‘बालमैत्री स्थानीय शासन युक्त नगरपालिका’ घोषणा भएको छ। करिब चार वर्षदेखि निरन्तर प्रयास गर्दै ५१ वटा सूचक पूरा गरी बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण, सुरक्षा र सहभागितामा महत्त्वपूर्ण प्रगति हासिल गरेपछि बुधबार तीनलाल पार्कमा आयोजित कार्यक्रममा नगरलाई बालमैत्री स्थानीय तह घोषणा गरिएको हो।

बिहान मन्थली–८ को गाई खुरा, मन्थली–१ को मन्थली मावि र भैशैश्वार चोकबाट निस्किएको र्‍यालीहरू प्रहरी कार्यालय र बसपार्क हुँदै तीनलाल पार्कमा प्रवेश गरेका थिए। ‘बालमैत्री नगर घोषणा’ लेखिएको ब्यानरसहित नगरको मुख्य सडक परिक्रमा गरी र्‍यालीपछि औपचारिक समारोह सम्पन्न भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले मन्थलीलाई ‘बालमैत्री स्थानीय शासन युक्त नगरपालिका’ भएको औपचारिक घोषणा गर्नुभयो। उहाँले भन्नुभयो, ‘मन्थली नगरपालिकाले ५१ वटा सूचक पूरा गर्दै बालमैत्री शासन युक्त नगर बन्ने लक्ष्य हासिल गरेको छ,  यो कामलाई अझ अगाडि बढाउनुस्, मेरो नेतृत्वमा रहेको मन्त्रालयले सकेको सहयोग गर्नेछ।’

सो अवसरमा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले ‘बालमैत्री स्थानीय शासन युक्त नगरपालिका’ बनाउन नगरले गरेका कामबारे जानकारी दिनुभयो। उहाँका अनुसार नगरका १४ वटै वडाले तोकिएका सूचक पूरा गरेपछि वडा स्तरमै ‘बालमैत्री शासन युक्त वडा’ घोषणा गरिएको थियो। उहाँले भन्नुभयो, ‘हामीले बालबालिकाका अधिकारलाई प्राथमिकतामा राखेर काम गरेका छौँ, यो घोषणा हाम्रो मात्र सफलता होइन, नगरका सबै क्षेत्र र नागरिकको सक्रिय सहभागिताले सम्भव भएको उपलब्धि हो।’

मन्थली पूर्णखोप नगर घोषणा, खुल्ला दिसामुक्त नगर घोषणा, पूर्णसाक्षर नगर घोषणा भइसकेकोले नेपाल सरकारको मापदण्डको आधारमा भएको बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ ओटा राष्ट्रिय सूचकहरू पुरा गर्दै बालमैत्री नगर घोषणा गर्ने अवस्थामा आई पुगे श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा गत वर्ष नगरभित्र शैक्षिक सुधार र तथ्याङ्कीय नतिजामा उल्लेखनीय प्रगति गर्ने विद्यालयका प्रअ, शिक्षक तथा विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो। यसपटक १४ वटै वडाका वडा अध्यक्षहरूलाई कदरपत्रद्वारा योगदानको कदर गरिएको थियो।

२०७९ सालदेखि बालमैत्री नगर घोषणा गर्ने अभियान सुरु गरेको मन्थली नगरपालिकाले करिब चार वर्षमा यो उपलब्धि हासिल गरेको हो। नगरपालिकाले शिक्षा, स्वास्थ्य, बालअधिकार संरक्षण, बालबालिकाको सहभागिता, खेलकुद तथा सिर्जनात्मक गतिविधि, लैङ्गिक समानता र सामाजिक उत्तरदायित्वका क्षेत्रमा निरन्तर प्रगति गर्दै ५१ वटा सूचक पूरा गरेको छ।

२०८१ को घरधुरी सर्वेक्षण अनुसार मन्थली नगरको जम्मा ९ हजार ५ सय ९० घरधुरी र जम्मा जनसङ्ख्या ५३ हजार ९ सय ९३ रहेको छ । १८ वर्ष मुनिका बालबालिकाहरूको सङ्ख्या १५ हजार १ सय १७, रहेको छ ।

नगरमा ६६ वटा सामुदायिक विद्यालय, ६ वटा संस्थागत विद्यालय सञ्चालनमा रहेका छन् भने ८० वटा बाल विकास केन्द्र, ९ वटा सामुदायिक सिकाई केन्द्र, एक प्राविधिक शिक्षालय, एक सामुदायिक क्याम्पस र एक विशेष शिक्षा स्रोत कक्षा सञ्चालनमा रहेका छन् । त्यसै गरी ३० वटा स्वास्थ्य संस्थाहरू क्रियाशील रहेका छन् ।

नगर भित्र २ सय वटा बाल समूह, १४ वटा वडा बाल सञ्जाल र एक नगर बाल सञ्जाल गरी १५ वटा बाल सञ्जाल, ५२ वटा किशोरी समूह, १४ वटा वडा स्तरीय किशोरी सञ्जाल र एक नगरस्तरीय किशोरी वृत्त रहेका छन् । जसमा ३ हजार ९ सय ६९ जना बालबालिकाहरूको प्रत्यक्ष सहभागिता रहेको छ ।