जनता टाइम्स

२ मंसिर २०७६, सोमबार १५:१९

कास्की–२ उपनिर्वाचन : नेकपाकी उम्मेद्वार बिद्या भट्टराईको स्वागतमा यसरी उर्लिए मतदाता


पोखरा मंसिर २ । नेकपाको बलियो पकड वडाका रुपमा चिनिने पोखरा १७ का मतदाताहरुले उम्मेद्वार विद्या भट्टराई अधिकारीलाई भव्य स्वागत गरेका छन् । आज विहानै दोविल्लाबाट घरदैलो अभियान सुरु गरेकी विद्यालाई भब्य स्वागत गरेका हुन ।

घरदैलो सुरु हुनुअघि दोविल्लामा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा कास्की अध्यक्ष एवं वडा नं १७ का चुनावी कमाण्डर कृष्ण थापाले संसारको कुनैपनि तागतले कास्की २ को निर्वाचनमा नेकपालाई हराउन नसक्ने ठोकुवा गर्नुभयो । आफ्नो ठाउँमा पराजित भएका व्यक्तिहरु कास्कीमा आएर नेकपाविरुद्ध बोल्नु लाजमर्दो विषय भएको भन्दै अध्यक्ष थापाले अत्यधिक बहुमतसहित विद्याको जीत सुुनिश्चित भएकोे उदघोष गर्नुभएको हो ।

सो अवसरमा बोल्दै उम्मेदवार विद्या भट्टराई अधिकारीले पोखरा १७ पर्यटकीय र धार्मिक हिसावले उत्कृष्ठ रहेको भन्दै उक्त वडासहित समग्र पोखरामा आवस्यक विकासको जिम्मा आँफूले लिने उद्घोष गर्नुभयो । ‘यहाँ थुप्रै पर्यटकीय स्थलहरु छन, त्यसको विकासका लागि म जिम्मेवार भएर अघि बढ्छु,’ उहाँले भन्नुभयो । कार्यक्रमा नेकपाको पोखरा महानगर कमिटी अध्यक्ष दिपक पौडेलले वडामा रहेका ८० प्रतिशत मत नेकपाको सूर्य चिन्हमै आउने बताउनु भयो । दोविल्ला हुँदै सीतापाईलास्थित समृद्धि टोल, महतगौँडा, रातोपैह«ा, घारीपाटन लगायतका क्षेत्रमा सोमबार नै घरदैलो कार्यक्रम अघि बढेको छ ।

यता पोखराको कृष्ति नाच्नेचौरमा भविष्य निर्माण बुथको कार्यालय उद्घाटन गरिएको छ । सोमबार आयोजित कार्यक्रममा यूवा नेता झपट रानाभाट र श्रीराम सुवेदीले संयुक्तरुपमा कार्यालय उद्घाटन गर्नुभएको हो । भगवान रामचन्द्रको अयोध्याजस्तै नेकपाको लालकिल्ला भएको ठाउँमा बुथ कार्यालय स्थापना गरिएको रानाभाटले बताउनु भयो ।